मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको पाँचौ नगरसभाबाट बुद्धभूमि नगरपालिकाको नगर प्रहरी ऐन, २०७६ सर्वसम्मतले पारित गरिएको छ । यो ऐन पारित भएसंगै नगरपालिकाले नगरभित्र आवश्यकता अनुसार नगर प्रहरी राख्न सक्नेछ । संविधानले स्थानीय तहलाई नगर प्रहरी राख्न सक्ने अधिकार दिएको छ । यद्यपी अधिकांश स्थानीय तहले नगर प्रहरी राखेका छैनन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले भने अब नगर प्रहरीको व्यवस्था गर्ने भएको छ । नगर प्रहरीले ऐनमा तोकिएका नियम अनुसार काम गर्ने छ । नगर प्रहरीको व्यवस्था संगै बुद्धभूमि जिल्लामै पहिलो नगर प्रहरी राख्ने स्थानीय तह हुने छ ।
यस्तै नगरसभाबाट नगर शिक्षा योजना २०७६ सर्वसम्मतले पारित गरिएको छ । शिक्षामा आमूल परिवर्तनको अपेक्षा राखेर पारित गरिएको शिक्षा योजनाले पञ्च बर्षीय योजना बनाएको छ । नगर शिक्षा योजनामा ५ बर्ष भित्र नगरको साक्षरतादर ९९ प्रतिशत पुर्याउने देखि समग्र सिकाई उपलब्धी ७० प्रतिशत सम्म पुर्याउने छ । अनौपचारिक शिक्षाबाट सीपमूलक, आयमूलक कार्यक्रम पनि यसमा समावेश छ । प्राविधिक शिक्षामा जोड दिएर तयार पारिएको शिक्षा योजनालाई नगरसभामा नगरका विधेयक समितिका संयोजक खुमानन्द न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै नगरपालिकाले बुद्धभूमि नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६, बुद्धभूमि नगरपालिकाको नगर दररेट २०७६ पनि विधेयक समितिका संयोजक न्यौपानेले सभामा पेश गर्नुभएको थियो ।
यसैगरी बुद्धभूमि नगरपालिकाको आर्थिक ऐन, २०७६ पनि नगरसभाबाट सर्वसम्मत पारित गरिएको छ । आर्थिक ऐनमा कर बढाउने भन्दा पनि करका दायरा बढाउने गरी आर्थिक ऐन जारी गरिएको भन्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रष्ट पार्नुभएको थियो । जनतालाई करको बोझ थपेर भन्दा पनि दायरा बढाएर राजश्वलाई बढाउने नीति लिइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरसभामा पेश भएका यि सबै कानुनहरु सर्वसम्मतले पारित भएका छन् ।
८ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया