९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिक्षामन्त्री भन्छन्, ‘देशको माया गर्ने जनशक्ति चाहियो’



दाङ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताउनुभएको छ ।
दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
जीवनशैली भन्दा बाहिरको शिक्षा पद्दतिले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भएको चर्चा गर्दै उहाँले अब शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेर लैजान आवश्यक रहेको बताउनुभयो ।
शहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रममा मन्त्रीले भन्नुभयो,“अहिले २० प्रतिशत प्राविधिक र ८० प्रतिशत शिक्षा सैद्धान्तिक प्रदान हुँदै आएको छ । यो गलत छ ।”
यता प्रदेशस्तरीय पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालयको भवन शिलान्यास गर्दै मन्त्री पोख्रेलले सामुदायिक विद्यालयको रुपान्तरण अहिलेको प्रमुख कार्यभार रहेको बताउनुभयो । सरकारले प्रत्येक प्रदेशमा एक÷एकवटा विशेष शिक्षा आवासीय विद्यालयको परिकल्पना गरेर निर्माणको प्रक्रिया शुरु गरिसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ७ असार २०७६ शनिबार ००:००  ६ : २५ बजे