मायादेवी अनलाइन, वाणगंगा ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले लागु पदार्थ दुव्र्यसन नगरको प्रमुख सामाजिक समस्याको रुपमा रहेको बताउनु भएको छ । नगरका बिभिन्न क्षेत्रमा लागु पदार्थ प्रयोगकर्ताको संख्या बढ्दै गईरहेकाले यसले समाजमा अपराधलाई प्रश्रय दिएको हुँदा यो नगरकै प्रमुख सामाजिक समस्या भएको बताउनुभयो ।
बाणगंगा नगरपालिका र शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको लागु पदार्थ दुव्र्यसन न्यूनिकरण तथा रोकथामको लागि शुक्रबार देखि सुरु भएको २ दिने अभिमूखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख थारुले सो कुरा बताउनु भएको हो ।
नगरका प्रत्येक वडामा यस्तो समस्या भएको रिपोटिङ आफूले पाइरहेको कारण यसलाई न्यूनीकरण गर्न अभिमुखीकरण फलदायी हुने उहाँको विश्वास छ । कार्यक्रममा नार्कोनन नेपाल प्रदेश ५ का संयोजक बसन्त पुनले लागु पदार्थ दुव्र्यसन मुलुककै प्रमुख समस्या भएको बताउनुभयो ।
यसको रोकथामको लागि स्वयम् परिवार जिम्मेवार रहने भन्दै मुख्य गरी किशोरावस्थामा रहेका व्यक्तिको निगरानी आवश्यक रहेको पुनको भनाई छ । उहाँले लागु पदार्थ दुव्र्यसनीको कारण, लक्षण, रोकथामका उपाय आदिको बारेमा वृत्तचित्र प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला युवा समितिका अध्यक्ष टुकलाल गैरेको अध्यक्षता, स्रोत व्यक्ति कविराज भण्डारीको संचालन, शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख चक्र अर्याल, शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा नगरका ११ वडाका युवा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमपछि अभिमूखीकरणमा सहभागी भएका युवाहरुले आफ्नो वडामा गएर लागु पदार्थको न्यूनिकरणको विषयमा अभियान चलाउने शिक्षा अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो । कार्यक्रम शनिबार सम्पन्न हुने छ ।
६ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया