मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । नगरपालिकाको वडा नं ३ मा एक कार्यक्रमका बीच रोजगार कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रम लागुसंगै वडा नं. ३ का ७६ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । वडाबाट ८ सय ५० जनाले बेरोजगार फारम भरेपनि ७६ जना मात्र काममा सहभागी भएका हुन् । स्थानीय बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न काममा रोजगार प्रदान गर्न सकने कार्यविधिमा उल्लेख छ ।
वडाले सरसफाई वृक्षारोपण, कुलो तथा नाली मर्मत सरसफाई लगायत काममा लगाउने वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वताउनुभयो । उक्त कार्यका लागि आवश्यक औजारहरु र पोषाक पनि प्रदान गरिएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्र रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले समृद्ध नगर बनाउन सवैले रोजगारी पाउनुपर्नेमा जोड दिनुभयो । सरकारले गरिव, निमुखा तथा वेरोजगार नागरिकलाई रोजगारी दिएर जिविकोपार्जनमा सहज बनाउने काम गरेको भन्दै यसको भरपु सदुपयोग गर्न कामदारलाई आग्रह गर्नुभयो ।
नगर प्रमुख नेत्रराज अधिकारीले यस बर्षको बजेट ढिला गरी आएपनि आगामी आवमा यस कार्यक्रमलाई प्रभावकारी ढंगले आगाडि बढाउने बताउनुभयो । वडा नं. ३ मा रोजगार पाएका कामदारलाई आफ्नो काम कुशलतापूर्वक गर्न आग्रह गर्नुभयो ।
शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले दैनिक ८ घण्टा काम गर्नुपर्ने वताउनुभयो । थारुले आफ्नो कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । साथै राम्रो काम गरी नमुना बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
६ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया