मायादेवी अनलाइन, वाणगंगा ।
बाणगंगा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले जनताबाट विश्वास पाएर चुनिएका जनप्रतिनिधिको काम राजनीति गर्नु नभएर विकास गर्ने रहेको बताउनु भएको छ । जनप्रतिनिधिहरु जुन दलबाट चुनिएर आएको भए पनि अब साझा भएर जनताको सेवा गर्न सके मात्र वास्तविक रुपमा स्थानीय तहको विकास हुने वडा अध्यक्ष क्षेत्रीको भनाई छ ।
वडा नं. ४ को आयोजना र मायादेवी मिडिया गु्रपको प्राविधिक सहयोगमा गजेहडाको विपी स्मृति भवनमा शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाध्यक्ष क्षेत्रीले सो कुरा बताउनु भएको हो । जनताले ५ बर्षको लागि आफूहरुलाई चुनेर सेवा गर्ने स्थानमा पुर्याएको भन्दै उहाँले यो समयको सबै जनप्रतिनिधिले भरपुर सदुपयोग गर्नुपर्ने बताउनुभयो । कतिपय क्षेत्रमा अझै पनि जनप्रतिनिधिहरुले विकासको नाममा राजनीति गरिरहेकाले त्यो राम्रो नभएको उहाँको भनाई छ ।
सार्वजनिक सुनुवाईमा वडाले बर्षभरी गरेका योजनाहरु प्रस्तुत गर्दै वडाध्यक्ष क्षेत्रीले आफ्नो कार्यकालसम्ममा वडालाई नमुना बनाएरै छाड्ने दाबी प्रस्तुत गर्नुभयो । आर्थिक बर्ष २०७५। ०७६ मा वडाले लक्षित वर्गका लागि तय गरेका कार्यक्रमहरु लगभग अन्तिम चरणमा पुगिसकेको बताउँदै अब सडक, बाटोघाटो लगायतका निर्माणका काम बाँकी रहेको र ती सबै काम पनि छिट्टै पुरा भइसक्ने उहाँले बताउनु भएको छ ।
संघ, प्रदेश र स्थानीय तहबाट चालु आर्थिक बर्षमा प्राप्त भएको ३ करोड ७२ लाख ४० हजार बराबरको रकमबाट धमाधम विकास निर्माणका काम भइरहेको बताउँदै क्षेत्रीले आगामी वर्षको लागि पनि योजना निर्माण भइरहेको बताउनुभयो ।
वडाध्यक्ष क्षेत्रीका अनुसार वडा नं. ४ मा संसद विकास कोेषबाट १० लाख, जिल्ला समन्वय समितिबाट ३६ लाख, नगरबाट ९४ लाख, शिक्षाबाट १० लाख ५० हजार, उपभोक्ताबाट ३३ लाख ९० हजार, नगरबाट ९४ लाख गरी करिब ४ करोडका योजनाहरु वडामा भइरहेका छन् ।
यसैबीच वडाध्यक्ष क्षेत्रीले नगर र जनताबाट वडामा राम्रै बजेट भए पनि संघ र प्रदेशबाट भने वडाले पर्याप्त बजेट पाउन नसकेकोमा गुनासो गर्नुभयो । बाणगंगा नगरपालिका आफैमा जिल्लाको सबैभन्दा महत्वपूर्ण नगरपालिका भएको र त्यसमा पनि बाणगंगाको वडा नम्बर ४ मा सबैभन्दा विकासको गति बढेकाले यस वडामा थप ठुला योजनाहरु सम्पन्न हुन आवश्यक रहेको क्षेत्रीको भनाई छ । त्यसको लागि प्रदेश र संघले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैबीच सार्वजनिक सुनुवाईमा वडाबासीले विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत आदिका विषमा थुप्रै समस्या राखेका छन् । किसानले समयमा मल र विउविजन नपाएको, वडाले शिक्षालाई उपेक्षा गरेको, लो भोल्टेजले हैरानी खेपेको, शान्ति सुरक्षाको अनुभुति गर्न नसकेको, लागु पदार्थ दुव्र्यसनी बढेको भन्दै वडाबासीले वडाध्यक्ष र सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । वडाबासीले राखेका जिज्ञासाको वडाध्यक्ष क्षेत्री, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, कृषि तथा स्वास्थ्य चौकीका प्रतिनिधिहरुले सहजीकरण गर्नुभएको थियो ।
वडाध्यक्ष क्षेत्रीको अध्यक्षता, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालन तथा गु्रपका बाबुराम रायमाझीका मन्तव्यमा सम्पन्न कार्यक्रममा गू्रपका अध्यक्ष हरि अधिकारीले सार्वजनिक सुनुवाईको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने निर्देशक दिपक अनुरागीले नागरिक सुझाव प्रतिवेदन र बर्हिगमन अभिमतसहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
६ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया