मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ एकै पटक बाल बिवाह मुक्त र पुर्ण खोप वडा घोषणा भएको छ । वडामा बाल बिवाह रोकिएको र जन्मे देखि २३ महिना भित्रका बालबालिकाहरु खोपको पहुँचमा पुगेकोले वडालाई बाल बिवाहमुक्त र पुर्णखोप वडा घोषणा गरिएको हो ।
वडा अध्यक्ष नन्दलाल यादवले गाउँमा बाल बिवाह नभएको र २३ महिना सम्मको बालबालिकाहरु खोपको पहुँचमा पुगेको प्रतिबेदन प्रस्तुत गरेका थिए । सो अवसरमा प्रदेश नम्बर ५ का सदस्य दीर्घ नारायण पाण्डेय, धरम बहादुर लाल श्रीवास्तव र नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रदेश सदस्य पाण्डेयले पछि परेको दक्षिणी क्षेत्रको वडा एकै पटक बालबिवाह मुक्त र पुर्ण खोप घोषणा हुनु आफैमा नमुनायोग्य काम भएको बताए । उनले यो कार्यलाई घोषणामा सीमित नराखी ब्यवहारमा उतार्नु पर्ने बताए । ‘बाल बिवाह आफैमा दण्डनीय अपराध हो यो कार्यलाई सबैले मिलेर रोक्नु पर्छ’ उनले भने ।
उनले वडा र नगरपालिकाको विकासका लागि सबैले हातेमालो गर्नु पर्ने बताए । नगरपालिका र यस क्षेत्र कै विकासका लागि आफुले प्रदेश सरकारमा पहल गर्ने बताए । सोही अवसरमा प्रदेश सदस्य श्रीवास्तवले बिभिन्न कारणले अहिले देशब्यापीरुपमा बालबिवाह चुनौती बन्दै गएको अवस्थामा वडा बाल बिवाहमुक्त हुनु सकारात्मक काम भएको बताए ।
उनले अहिले कम उमेरका युवा युवतीहरु भागेर आफै बिवाह गर्ने चलन बढकोप्रति चिन्ता ब्यक्त गदै यसलाई रोक्न ब्यापक जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने बताए । नगरप्रमुख श्रेष्ठले घोषणा गरिएको कार्यलाई त्यसैमा सीमित राख्न नहुने बताए । उनले शिक्षा, स्वास्थ्यमा अभिभावकहरु आफै सचेत हुनु पर्ने बताए ।
उनले नगरपालिकालाई छिट्टै बाल विबाहमुक्त र पुर्णखोप नगरपालिका घोषणा गने तयारी गरिएको बताए । वडामा गत एक बर्ष भित्र भएको कुल ४९ बिवाह मध्ये ४ वटा मात्र बाल बिवाह भएको प्रतिबेदन पेश गरिएको थियो । यस्तै नगरपालिकाका स्वास्थ्य ईकाईका प्रमुख डोलबिक्रम बेल्वासेले जनमेदेखि २३ महिना भित्रका १ सय ३ बालबालिकाहरु नै खोपको पहुँचमा पुगेका बताए । उनीहरुलाई बिभिन्न ११ प्रकारका खोप निःशुल्क लगाईने उनले बताए ।
कार्यक्रममा मेयर श्रेष्ठले वडालाई बाल बिवाहमुक्त र पुर्ण खोपको प्रमाणपत्र समेत प्रदान गरेका थिए । वडा अध्यक्ष यादवको अध्यक्षता र शिवलाल यादवको संचालनमा भएको कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रदेश नम्बर ५ का प्रमुख राजेन्द्र तुलाधर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या लगायतले मन्तब्य दिएका थिए । वडालाई बाल बिवाहमुक्त र पुर्ण खोप घोषणा गराउन सनसाईन सामाजिक विकास संस्थाको अगुवाईमा सेभ द चिल्ड्रेनको कार्यक्रम संचालन गरिएको थियो ।
सो अवसरमा घोषणा गराउने कार्यमा योगदान दिए बापत बिभिन्न संस्था र ब्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएका थियो ।
६ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया