९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ढुक्क भएर उत्पादनमा लाग्न वाणगंगाका नगर प्रमुख थारुको आग्रह



मायादेवी अनलाइन, कपिलवस्तु । 

बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले ढुक्क भएर उत्पादनमा लाग्न नगरबासीलार्ई आग्रह गर्नुभएको छ । उत्पादन विना नगरले आर्थिक सवृद्धि हासिल गर्न नसक्ने भन्दै नगर प्रमुख थारुले सबै उत्पादनमा लाग्नु पर्ने आवश्यकता औँल्याउनु भएको हो ।

महिला लक्षित कार्यक्रम अन्तर्गत बाणगंगा नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको ६ महिने सिलाई कटाई तथा थारु समुदायको लागि एक महिने ढकिया बुनाई तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि थारुले तालिम अवधिभर सिकेको सिपलाई व्यावसायिक बनाउन आग्रह गर्नुभएको छ ।

हातमा सिप भएको मान्छे कहिल्यै पनि भोकै बस्न नपर्ने बताउँदै मेयर थारुले भन्नुभयो–‘तपाईहरु दिदीबहिनीहरु ढुक्क भएर बिभिन्न ढकिया लगायतका मौलिक सामग्री उत्पादन गर्नुस् नगरले बजारीकरणको ब्यवस्था गर्छ ।’ नगरका हरेक वडामा लक्षित बर्गका कार्यक्रम अन्तर्गत बिभिन्न सिपमूलक तालिमहरु सचालन भइरहेको भन्दै थारुले  अबको केही समयमा नगर बिभिन्न कुरामा आत्मनिर्भर बन्ने दाबी गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले तालिममा सिकेको सिप हासिल गरेमा मात्र तालिमको सार्थकता हुने बताउनुभयो । अहिले बजारमा सिलाईबुनाई र ढकिया ब्यावसायको राम्रो सम्भावना रहेका कारण सिपलाई अधिकतम प्रयोग गरी उद्यमी बन्न उहाँको आग्रह छ । नगर प्रवक्ता समेत रहनु भएका पौडेलले अब नगरपालिकाले सबैलाई उत्पादनमा लगाएर बजारीकरणको लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले वस्तुहरु उत्पादन गरे पनि नगरमा बजारीकरणको समस्या भएको बताउनुभयो । अहिले नगरले बिभिन्न वडामा सिपमूलक तालिम संचालन भइरहँदो  नगरबासीहरु पनि बिभिन्न उत्पादनमा लागेको हुनाले नगरले बजारी करणको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

वडाले अतिथिहरुलाई मायाको चिनो स्वरुप तालिमबाट उत्पादन भएको ढकिया दिनू निकै कुरा अनुकरणीय भएको भन्दै यसले अब चिनीया बस्तुहरु विस्थापन गर्ने बताउनु भयो । वडा नम्बर १ ले यस्तो कार्यको थालनी गरेको भन्दै क्षेत्रीले हरेक व्यक्ति र संस्थाले यसको अनुकरण गर्नुपर्ने बताउनुभयो ।

समापन कार्यक्रमकी अध्यक्ष एवम् वडा नम्बर १ की वडाध्यक्ष बाल कुमारी पन्त अधिकारीले तालिमपछि सबैलाई ब्यावसायी बन्न आग्रह गर्नुभयो । सिकेको सिपलाई अब अधिकतम प्रयोग गरी महिलाहरुले ढकिया ब्यावसाय सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकी उहाले सिलाई कटाईबाट पनि महिलाहरु सजिलै आत्मनिर्भर बन्न सक्ने बताउनु भयो ।

वडा सदस्य झलक मल्ल ठकुरीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा ढकिया ब्यावसायी सूर्य नारायण चौधरी, कृषि समुह अध्यक्ष उषा नोपाल, ढकिया प्रशिक्षक मोहनी थारु, सिलाईकटाई प्रशिक्षक लक्ष्मी थारु, प्रशिक्षार्थीहरु पार्वती थारु, सिता थारु, लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने प्रशिक्षक तथा प्रशिक्षर्थीले पनि वस्तु उत्पादन गर्नुभन्दा पनि बजारीकरण सबैभन्दा चुनौतिपूर्ण रहेको बताएका थिए । कार्यक्रममा ढकिया बुन्ने तथा सिलाईकटाईमा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ असार २०७६ बिहिबार ००:००  ९ : ५३ बजे