सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकाले पूर्वाधार विकासका लागि कार्यान्वयनको वर्षका रुपमा लिंदै आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगर प्रमुख चित्रबहादुर कार्कीले पाँचौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, उद्योग र पूर्वाधारमा जोड दिइएको बताए ।
सैनामैनाले नगर गुरुयोजना निर्माण, ठूला पूर्वाधार विकास, एकीकृत नमुना बस्ती विकास, हाटबजार स्थानान्तरण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, कृषि, पशु, स्वरोजगार एवं क्षमता विकास जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले गुरु योजना अनुसार नगरको अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
सैनामैनाको बुद्धकालीन सभ्यतालाई उजागार गर्दै त्यसलाई पर्यटकीय र खोज अनुसन्धानको केन्द्र बनाइने मेयर कार्कीले बताए । यस्तै सैनामैना चक्रपथ कालोपत्रे गर्ने, लुम्बिनी जोड्ने सडकको स्तरोन्नति गर्ने, कृषि उत्पादकत्व बढाउने, बहुउद्देश्यीय जलासय निर्माण गर्ने, खेलकुद रंगशाला निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सैनामैना वडा नं. २ मा रहेको थारु होमस्टेलाई अझ व्यवस्थित गरी विशेष होम स्टे बनाउने का रुपमा सञ्चालन गर्ने भएको छ ।
प्रदेश सरकार सँगको सहकार्यमा वडा नं. ३ मा स्मार्ट कुखुरा पालन, वडा नं. ६ र ११ मा स्मार्ट पशुपालनको लागि कृषि ग्राम कार्यक्रम सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया