९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाको वडा नं. २ प्रदेश ५ मै पहिलो विद्युत चुहावट मुक्त वडा घोषणा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ प्रदेशमै पहिलो विद्यूत चुहावट मुक्त वडा घोषणा भएको छ । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यमा विहीबार एक कार्यक्रमको आयोजना गरी वडालाई विद्यूत चुहावट मुक्त घोषणा गरिएको हो ।
वडाका कुनै घरधुरी पनि मिटरविहिन नभएको र कुनै स्थानमा विद्यूत चोरी(हुकिङ्ग) गर्ने अवस्था नभएपछि विहीबार वडालाई प्रदेशमै विद्यूत चुहावट मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक अवस्थाका कारण मिटर जडान गर्न नपाएका घरधुरीहरुलाई पनि विद्यूत मिटर निशुल्क वितरण गरिएको छ । वडा कार्यालयको पहलमा विद्यूत प्राधिकरण तौलिहवा वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका वडाका सबै घरधुरीलाई निशुल्क मिटर जडान गरिदिने छ । त्यस अन्तर्गत विहीबार ३ सय घरघुरीलाई विद्यूत मिटर निशुल्क वितरण गरिएको छ ।
पहिलोपटक वडा नम्बर २ विद्यूत चुहावट मुक्त वडा घोषणा हुनु निकै सुखद रहेको भन्दै प्रमुख अतिथि पन्थीले यसले उर्जा संकटलाई न्यूनिकरण गर्न वडाले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । विद्यूत चोरी सामाजिक अपराध भएकाले विस्तारै अब सबै स्थानलाई विद्यूत चुहावटका मुक्त गराउनु पर्ने उहाँले बताउनुभयो ।
वडालाई विद्यूत चुहावट घोषणा गरेपछि यसको बारम्बार अवलोकन गर्न जरुरी भएको भन्दै सांसद पन्थीले विद्यूत प्राधिकरण तौलिहवा वितरण शाखा र वडा कार्यालयको ध्यानाकर्षण गराउनु भयो ।
प्राधिकरण वितरण शाखाका प्रमुख जयप्रसाद यादवले वडा र प्राधिकरणले अब नियमित अवलोकन गर्ने बताउनुभयो । अब उक्त वडाका कुनै पनि स्थानमा कुनै प्रकारले विद्यूत चोरी गर्ने अवस्था छैन ।

प्रकाशित मिति : ५ असार २०७६ बिहिबार ००:००  ८ : ५० बजे