एजेन्सी,
पहिलो खेलमा पराजित भएको लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकियो ।
ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा अर्जेन्टिना पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको हो ।पहिलो हाफमा पछि परेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा कप्तानी मेस्सीले गोल गर्दै बराबरी गरे पनि थप गोल हुन नसक्दा टिम बराबरीमा रोकिन बाध्य भयो । ३७ औँ मिनेटमा रिचार्ड सान्चेजको गोलबाट पाराग्वेले सुरुवाति अग्रता लिएको थियो ।
अर्जेन्टिनाले दोस्रो हाफमा पेनाल्टी पायो । ५७ औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा लगेका हुन् । कोलम्बियासँग २–० ले पराजित भएर प्रतियोगिता सुरु गरेको गएका दुई पटकको फाइनलिस्ट अर्जेन्टिनाका लागि अघिल्लो चरण प्रवेशमै समस्या हुने देखिएको छ यसपटक ।
लगातार दुई खेलमा जित निकालेको कोलम्बिया ६ अंकसहित समूहको शीर्षस्थानमा छ । दुई अंकसहित पाराग्वे दोस्रो स्थानमा रहेको छ । समान एक अंक भए पनि गोल अन्तरका आधारमा पछि परेकाले कतार भन्दा पनि पछि हुँदै अर्जेन्टिना पुछारमा छ ।
प्रतिक्रिया