९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधानमन्त्री रोजगार कार्यक्रमले ल्यायो खुसी, शितगंगामा पनि कार्यक्रम सुरू



बिष्णु कुमार आले, अर्घाखाँची ।
नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिकामा बुधबार देखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू भएपछि शितगंगा नगरपालिका वडा नं. १ मन्द्रेकी ४५ बर्षीय टीका पहराईले घरको काम सकाएर रातो जर्सी लगाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भईन् । सरकारले लागु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाबाट छनोट भई रोजगारीमा लागेकी पहराईको परिवारमा सरकारी तलव खाने कोहि थिएनन् । अहिले छोटो समय भएपनी सरकारी पैसा कमाउने आफ्नो धोको पूरा हुने बताईन् ।
आर्थिक बर्ष सकिन लाग्दै गर्दा सुरू भएको रोजगार कार्यक्रममा १५ दिनका लागि भएपनि बाटो मर्मत गर्ने काममा सहभागी भएर सरकारको कामप्रति आफु ईमान्दार भएर काम गर्ने उनले बताईन् । दिनको ५ सय १७ रूपिँया आउँछ त्यसैले यसपटक घरखर्च टार्ने उनले बताईन् । उनी मात्र होईन काममा सहभागी भएकी रूपा सोमै पनि सरकारी जागिरमा सहभागी हुन पाउँदा निकै खुसी छिन् ।
५ जनाको परिवार रहेको सोमैका श्रीमान रोजगारका लागि भारत पुगेका छन् । स्वदेशमै राम्रो रोजगारी पाईने भए, श्रीमान श्रीमती सँगै वस्ने रहर कस्को हुँदैन र उनले प्रति प्रश्न गरिन ? तर, वाध्यता स्वदेशमा रोजगारी पाईदैन, साँझ बिहान गाँसको जोहो गर्न र छोराछोरीको हेरबिचार गर्न अन्य मुलुकमा गएर काम गर्नु पर्ने हामी नेपालीको बाध्यता हो उनले भनिन् । यो कार्यक्रम सधैभरी लागु भए, श्रीमानलाई पनि स्वदेश फर्काउने थिए ।
कक्षा १२ को परिक्षा दिएर बेरोजगार भई घरमै बसेका मोहन मगरको बिदेश गएर काम गर्ने ईच्छा पटक्कै छैन् । रोजगार खोज्दा केही पाईदैन उनले भने बिहान बेलुका घरको काममा जति ब्यस्त भएपनि प्रतिफल पाउन सकिदैन । परिवारसँग बसेर घरकै आटोपिठो खाएर व्यवसायिक कृषि काममा काम गर्ने ईच्छा भएपनि लगानी गर्न सानो रकम पनि साथमा छैन् । उमेरले भर्खर २० बर्षमा टेकेका मगरमा काम गर्ने जोस जाँगर निकै छ तर रोजगार नपाउँदा प्राय दिनहरू त्यतिकै बित्ने गरेको उनले बताए । उनी भन्छन्, ‘स्वदेशमै काम पाएमा विदेश जाने सोच छैन्, छोटो समय भएपनि रोजगारी पाउँदा खुसी छु ।’ विदेश गएर अर्काको नोक्कर हुनु भन्दा गाउँको विकास निमार्णमा जुट्दै स्वदेशमै रोजगार गर्ने चाहना भएको उनी बताउँन् ।
४ जनाको परिवार रहेको ३२ बर्षीय पुष्पा सोमै पनि रोजगारीमा लागेकी छन् । स–साना २ छोरा छोरीको आमा उनी बिहान बेलुका घरको काम सकि बालबच्चालाई स्कुल पठाएर प्रधानमन्त्री रोजगार काममा हातमा कोदालो र अन्य औजार बोकेर सहभागी हुन्छिन् । गाउँमै ज्यालादारी गरेर घरखर्च चलाउदै आएकी सोमै यसरी गाउँकै बाटो खनेर सरकारी पैसा कमाउन पाउँदा आफुलाई खुसी लागेको उनले बताईन् । उनी भन्छिन्, बाटो खन्ने भएपनि काम सानो र ठुलो हुदैँन, जागीर एउटै हो, यसैमा खुसी छु ।
उमेरले नेटो काट्दै गरेका तिल बहादुर बैजाली र टोपलाल पोखरेल पनि प्रधानमन्त्री रोजगार काममा सहभागी छन् । उमेरले ६० बर्ष पुगेका टोपलाल पोखरेल काम गर्ने समुहमा सबै भन्दा पाका उमेरका देखिन्छन् । तर, काम गर्ने जोस र जाँगर चौंबिस पच्चिस बर्षका उमेरका युवा भन्दा कम छैन । समुहमा जोसिलो हसिलो देखिने उनेले काम गर्ने तरिका र अनुभव अरूलाई दिने गर्दछन् । काम गरेर कहिल्यै नथाक्ने उनी भन्छन् पहिलाको जमाना अर्कै थियो हेर्दा हेर्दै अहिले यस्तो भयो । पहिला पहिला ५, ६ दिनको बाटो हिडेर बटौली नुन बोक्न जाने गरिन्थ्यो ।
अहिले घर घरमा गाडि पुगेका छन् । जमाना यस्तो आयो उनले बताउँछन् । नगरको वडा नं १ बाट सुरू भएको रोजगार कार्यक्रमको अनुगमन गर्दै नगरप्रमुख सुर्यप्रसाद अधिकारीले आफ्नो गाउँ आफै बनाउँ अभियानमा सबै लाग्नु पर्ने बताए । नगरको विकासका लागी रोजगारी कार्यक्रम प्रभावकारी हुने भएकाले ‘आफनो गाउँमा काम गर्न लाज नमानी काम गर्न अधिकारीले सबैलाई आग्रह समेत गरे ।
प्रधानमन्त्री रोजगारका लागि नेपाल सरकारबाट अनुदान रू. ४८ लाख रकम मध्ये प्रत्येक वडामा २ लाख ४० हजार बराबरको बिकास निर्माणको काममा खर्च गरिने नगरपालिकाले जनाएको छ । सुवर्णखालमा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, वडा अध्यक्ष बुद्धिकृष्ण पौडेल, रोजगार संयोजक नरमाया सुवेदी, समाजसेबी ऋषि घिमिरे लगायतले प्रधानमन्त्री रोजागार कार्यक्रमको बारेमा जानकारी गराएका थिए । वडाहरूमा बिनियोजित प्रधानमन्त्री सोरोजगार रकम खर्च गर्ने तरिका फरक फरक छन् ।
कामको अनुगमन गर्नको लागि एक जना सुपरभाईजर समेत नियुक्त भएका छन् । जिल्लाको शितगंगा नगरपालिकामा २ सय ७५ जना, छत्रदेवमा ३ सय जना, भुमिकास्थानमा १ सय ९० जना, मालारानीमा १ सय ७२ जना, पाणिनीमा १ सय ३५ जना, सन्धिखर्कमा २ सय ३५ जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७६ बुधबार ००:००  १० : १७ बजे