९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

६ करोडभन्दा बढी ठगी गर्ने एक जना पक्राउ



काठमाण्डौ ।
सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट गणेशस्थान गाविस(९ घर भएर हाल काठमाण्डौको तारकेश्वर नगरपालिका मनमैजु बस्ने प्रविन पौडेललाई मकवानपुर हेटौडा उपमहानगरपालिका(४ पारिजातपथमा क्षेत्रमा लुकेर बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको हो ।

उनले काठमाण्डौ महानगरपालिका(४ विशालनगरमा ‘द एप्रिन्टाइस फिर्म प्राइभेट लिमिटेड’ नामको ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाइदिने र मासिक ५३ हजारभन्दा बढी कमाइ हुने भन्दै ठगी गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रविन पौडेलले तीन सय जनाभन्दा बढी मानिसहरुबाट ६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुल्न आएको छ ।

भारतको दिल्ली र लखनउमा पठाइ तालिम दिने प्रलोभनमा पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भनी काठमाण्डौ महानगरपालिका ३२ कोटेश्वर बस्ने तिर्थ हमालले दिएको जाहेरीको आधारमा पौडेललाई पक्राउ गरिएको हो ।
ठगी कार्यमा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुनाले खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । साथै यस्ता घटनाबाट जोगिन प्रहरीले सजग गराएको छ ।

प्रकाशित मिति : ४ असार २०७६ बुधबार ००:००  ३ : ३० बजे