रचना खासु मगर, तौलिहवा ।
कपिलबस्तुको सरमुकाम तौलिहवासंग सटेको बुद्धभूमि नगरपालिका- १० बडिलहवामा समयमाईको प्रतिकका रुपमा रहेको अनौठो तथा बिचित्रको आँपको रुख धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । बडिलहवामा ढेड सय बर्ष पुरानो आँपको रुख, सयममाई मन्दिर र मलंगबाबाको प्रतिक छ । यहाँ पूजापाठ र भाकलका लागि श्रद्धालुहरु आउने गरेको पुजारी सुग्रीव धोबीले बताए । बिशेष गरी सोमवार र बिहीवार यहाँ भिड लाग्ने गरेको उनले बताए ।
अनौठो आँपको रुख, सयममाई मन्दिर र हिन्दु र मुस्लिम समुदायले मान्ने मलंगबावाको प्रतिक समेत यही रहेकोले बडिलहवा प्रति धार्मिक आस्था बढ्दै गएको उनी बताउँछन । आँपको रुखको हाँगा माथि गई र सोही हाँगा फेरी जमिनमा झरी जमिनबाट फेरी हाँगा माथि सरेका छन् । करिब डेड सय बर्ष पुरानो आँपको रुखमा देबी देवताको शक्ती रहेको स्थानीय बुढापाखा बताउँछन । स्थानीय ब्यक्तीहरुले गरेको भाकल पुरा भए पछि आँपको रुखमा देबीको बास भएको बिश्वास गरेको बताएका छन् । स्थानीय बिश्म्भर मिश्रको ५ कठ्ठा जग्गामा मोटो मोटो आँपको हाँगा बिगा फैलिएको छ । उक्त रुखमा यस बर्ष झपक्क फुलेका थिए ।
यस बर्ष पटक पकट आएको आँधिले गर्दा आपका चिचिला झारेको थियो । आँपको रुख बिक्री गरे पछि रुख काट्न आउने मानिस बिरामी भै रुख काट्न नसकिने भए पछि रुख माथी बिश्वास भएको बताएका छन् । आँपको रुखको माथी समयमाईको साया रहेकोले रुखको पूर्बपट्टि समयमाई देबीको सानो मन्दिर स्थानीयले बनाएका छन् । बिश्म्भर कुर्मीले २ दशक अघि ईट्टा भट्टालाई बेच्न खाजेका थिए । रुख काट्ने बेलामा हाँगाबाट खसेर उनको हात भाच्चिएको थियो । अर्को पटक काट्ने प्रयास गर्दा माहुरीले टाकेको थियो ।
‘रुख बेचर धेरै पटक काट्ने प्रयास गरे तर परिवारमा केही न केही हानी नोक्सानी भई रह्यो’ रुखधनी मिश्रले भने ‘रुखमा पुर्खाहरुको र दैबी शक्तिको बास रहेको जस्तो लाग्यो’ । रुखको चारै तिर हाँगाहरु फैलिएका छन् । केही हुरी आँधिले खसे । तर पुरानो रुख अझै रहेको छ । रुख धनी कुर्मीले अब सो रुख नबेच्ने बताए । उनले पुख्यौली निशानीका रुपमा रुखलाई संरक्षण गरी राख्ने बताए । उनका अनुसार स्थानीय जातको तीन किसिमको आँप रुखमा फल्ने गर्छ । रुखको महिमाबारे चर्चा भए पछि भारतको बिभिन्न स्थानबाट समेत रुख हेर्न आएको मिश्राले बताए ।
रुखमा देबी शक्ति भएको भन्दै कुर्मीले रुखको किनारमा समयमाईको मन्दिर समेत स्थापना गरेका छन् । रुख र मन्दिरमा सोमवार र बिहीवार भक्तजनहरुको भिड लाग्ने गरेको छ । तौलिहवा घर भई अहिले दैलेख स्थित परिवार नियोजन संघका ब्यवस्थापक विकास पोख्रेलले रुखमा साक्षात देबीको बास भएको बताउँछन । तौलिहवा जादा हरेका मंगलवार रुखको बडिलहवाको दर्शन गर्ने गरेको पोख्रेलले त्यहाँ जादा आफुलाई शान्तिको अनुभूति मिलेको र मनोकांक्षा समेत पुरा भएको बताए । ‘बडिलहवा माईले मेरा मनोकांक्षा पुरा गर्नु भएको छ’ उनले भने । बडिलहवा माईका अर्का भक्त कृष्णकेशव श्रेष्ठले दैबी शक्ति रहेको भन्दै आफ्नो लगानीमा नल गाडेको थिए । उनी पनि फुर्सद मिलेको बेला परिवारसंग बडिलहवा जाने गरेको बताउँछन । ‘बडिलहवामाईको दर्शन गरे पछि छुट्टै आनन्द मिल्छ, घर परिवारमा पनि फलिफाप भएको छ’ उनले भने ।
उता बडिलहवामा भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् । भारतको झरुवाबाट मंगलवार बडिलहवामा पूजा गर्न आफ्ना ७ जना साथीहरुसंग पुगेकी अनिता यादवले बडिलहवाको महिमा सुनेर आएको बताईन । ‘भारतमा पनि बडिलहवाको चर्चा छ त्यसैले आफना गाउँ छिमेकका भक्तजनहरु समेत यहाँ आउने गरेका छन्’ उनले भने ।
उता भारतको झरुवा कै २ छोरीको आमा सीमा यादव छोरा प्राप्तिको कामनाका लागि यहाँ आएको बताईन । ‘बिवाह भएको ७ बर्ष हुँदा दुई छोरी भए पनी छोरा भएका छैनन्, पुत्रलाभको कामनाका लागि यहाँ भाकल गर्न आएकी हुँ’ उनले भनिन ।
उता सो मन्दिरमा १२ बर्ष देखि पूजापाठ गर्दै आएका सोखा राजेन्द्र यादवले मन्दिरमा भाकल पुरा हुनेले हातीको मुर्ति राख्ने गरेका बताए । रुखको पश्चिम पट्टी मुस्लिम र हिन्दु दुबैले पूजाआजा गर्ने मलंगवावा थान समेत रहेको छ । रुख हेर्न आउने भक्तजनहरुले रुख, समयमाई मन्दिर र सो थानको पूजा गरी फर्कने गरेका छन् । तर त्यहा पुग्न बाटोघाटोको समस्या रहेको भक्तजनहरु गुनासो गर्छन ।
स्थानीय तुलसीराम यादवले बडिलहवामा धेरै भक्तजनाहरु बाटो नहुँदा पुग्न नसकेको बताउँछन । उनले कच्ची र हिलो बाटो भएकाले बर्षायाममा त्यहाँ जान धेरै कठिन रहेको बताए । उनले बाटो निर्माणका लागि नगरपालिकाले चासो दिनु पर्ने बताए । बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठले धार्मिक स्थलका रुपमा विकसित भएको बडिलहवामाई पुग्नका लागि बाटो निर्माणमा नगरपालिकाको बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतिक्रिया