मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले नगरमा स्वरोजगार सिर्जना गर्न लक्षित कार्यक्रमबाट सिपमुलक कार्यक्रम संचालन गरेको बताउनुभएको छ । उहाँले महिला तथा युवाहरुलाई सिपमुलक तालिम लिएर उद्यमशिलतामा लाग्न अनुरोध गर्नुभएको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ ले वडा कार्यालय पिपरामा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख चौधरीले कृषि, पशुपालन तथा सिपमुलक कार्यक्रम नगरमा रोजगार सिर्जना गरिने बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले लक्षित कार्यक्रममा नगरले १ करोड बढि लगानी गरेको जानकारी दिनुभयो । उहाँले तालिमका लागि तालिम नभएर बजारको माग र आवश्यकताका आधारमा तालिम लिएर व्यवहारमा उतारेर स्वरोजगार हुन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले उद्यमशीलता मार्फत युवा स्वरोजगार सम्बन्धी प्रशिक्षण दिनुभएको छ । उहाँले स्थानीय स्तरमा उद्यम संचालन मार्फत लाखौं आम्दानी गर्दै स्वरोजगार बनेको उदाहरण दिनुभएको छ । युवाहरुलाई व्यवसायिक बनेर आफनै ठाउँमा रोजगारी सिर्जना गर्ने धेरै सम्भावना भएको बताउनुभएको छ ।
कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वडाका सवै लक्षित कार्यक्रम सम्पन्न भएको जानकारी गराउदै उद्यम गर्न चाहने युवालाई अवसर नै अवसर रहेको बताउनुभयो । उहाँले वडामा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाएर लगेको बताउदै वडाका महिला, बालबालिका, दलित, युवा, जनजाती, अपाङ्गको क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो ।
कार्यक्रममा वडाबाट वैजलपुर निवासी लोक बहादुर विक र धर्म विकलाई ड्रिल गर्ने आधुनिक मेसिन प्रदान गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा वडा सचिव नरेन्द्र प्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।
४ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया