मायादेवी अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुले ‘हाम्रो विद्यालय सफा विद्यालय’ नाराका साथ दुई गाउँपालिकाका विद्यालयहरुलाई फोहरदानी (डस्टविन) वितरण गरेको छ । मंगलबार शुद्धोधन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि शिक्षक संगठनले शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा फोहरदानी वितरण गरेको हो । संगठनले कपिलवस्तुभर यो अभियान सञ्चालन गरिरहेको छ ।
विद्यालयलाई फोहर मुक्त बनाउनका लागि फोहोरदानी वितरण गरिएको हो । विभिन्न बैंकहरुको सहयोगमा सञ्चालित कार्यक्रम आज शुद्धोधन र मायादेवी गाउँपालिकामा लवनीमा अवस्थित प्राइम कमर्सियल बैंकले सहयोग गरेको थियो । सामाजिक उत्तरदायित्व निर्वाह अनुसार बैंकले शिक्षक संगठन मार्फत फोहरदानी दिएको हो ।
दुई गाउँपालिकाका विद्यालयहरुलाई फोहरदानी वितरण गर्दै प्रदेश सांसद विष्णु पन्थीले यो अभियान जिल्लाभरी सञ्चालन हुने बताउनुभयो । विद्यालय हाताभित्र सफा सुग्गर वातावरण राख्नका लागि शिक्षक संगठनले फोहरदानी वितरण गरेको भन्दै यसको सही प्रयोग गर्न सांसद पन्थीले आग्रह गर्नुभयो । अभियानका मुख्य पहलकर्ता समेत रहनुभएका सांसद पन्थीले यस अभियानमा साथ दिने बैंकहरुलाई धन्यवाद दिनुभयो ।
प्रदेश सांसद सहसराम यादवले शिक्षक संगठनले चालेको अभियान निकै सरहानीय रहेको बताउनुभयो । विद्यालयलाई सबै हिसाबले उत्कृष्ट बनाउनुपर्ने बताउँदै सांसद यादवले फोहर व्यवस्थापन पनि महत्वपूर्ण रहेको बताउनुभयो । यसमा शिक्षक संगठनले राम्रो पहलकदमी लिएको भन्दै प्रसंशा गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले फोहरदानीको सहि सदुपयोग गर्न विद्यालयलाई आग्रह गर्नुभयो । सामुदायिक विद्यालयको पढाई खस्किरहेको तर्क गर्दै यसमा शिक्षकहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । फोहरदानी वितरणले राम्रो सन्देश दिएको भन्दै यसैगरी विद्यालयको पढाई सुधारका लागि शिक्षक संगठनले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद चौधरीले मायादेवी गाउँपालिकाका विद्यालयलाई फोहरदानी दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले शिक्षामा लगानी गर्न आफु तयार रहेको बताउनुभयो । शिक्षानै विकासको मुख्य आधार भएको भन्दै यसमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
वाणगंगा नगरपालिकाका शिक्षा शाखाका अधिकृत खिम बहादुर जिसीले शिक्षक संगठन सामाजिक काममा अरु भन्दा अगाडी रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले यसभन्दा अगाडी चार ओटा स्थानीय तहमा पनि फोहरदानी वितरण गरिएको भन्दै जिल्लाभर यो कार्यक्रम सञ्चालन हुने बताउनुभयो । शिक्षक संगठन पेशागत हकहितका लागि मात्र नभई सामाजिक काममा पनि अगाडी रहेको बताउनुभयो ।
प्राइम कमर्सियल बैंकका लवनी शाखा प्रबन्धक हरि भण्डारीले बैंकले तीन सय फोहरदानी विद्यालयलाई दिएको बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व निर्वाहका लागि यो काम गरेको जानकारी दिनुभयो ।
३ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया