९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

परवल खेतीमा नमुना बन्दै गगनी गाउँ, सिजनमा एक लाख सम्म कमाई



रचना खासु मगर, तौलिहवा ।
परवल खेतीका लागि जिल्लाको बुद्धभूमि नगरपालिका– १० गगनी गाउँ नुमना बन्दै गएको छ । बलौटे माटोमा हुने परवलखेतीमा लागेका यस गाउँका डेढ दर्जन किसानहरुले यसबाट राम्रो आम्दानी गर्ने गरेका छन् । गाउँमा रहेको डेढ दर्जन परिवारले १० बिघा पक्की खेतमा परवल खेती गरेका हुन् ।
दुई दशक यता गगनी गाउँमा किसानहरुले परवल खेती गर्दै आएका छन् । जग्गाधनी हरिराम गुप्ताको परिवारसंग मिलेर उनीहरुले परवल खेती गरेका हुन् । नमुना परवल खेतीले गर्दा गगनी जिल्ला मै परवल गाउँका रुपमा चिनिएको छ । जिल्लामा सबै भन्दा बढी परवल खेती गर्ने गाउँ नै गगनी रहेको स्थानीय किसानहरु बताउँछन । गगनी बाहेक बलरमवापुर र खोरियामा सामान्य रुपमा परवल खेती गर्ने गरिएको छ । गगनी गाउँका किसानहरु परवल खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
बाणगंगा नदी अन्तर्गत बिजगौरी पूलको दक्षिण तर्फ बगर र आसपास परवल खेती गर्दै एक दर्जन किसानहरुले सिजनमा ५० हजार देखि एक लाख आम्दानी गर्दै आएका हुन् । लहरे जातका रुपमा रहेको परवल खेतीमा बिगत २ दशक देखि हात हालेका ७० बर्षे किसान तालेश्वर पासीले ३ बिघा कच्चीमा परवल लगाएका छन् । हप्ताको दुई पटक चार क्युन्टलका दरले परवल बेचेर अहिले सम्म ४० हजार आम्दानी गरेको उनले बताए । तौलिहवा बजारमा मंगलबार र शनिबार लाग्ने हाट बजारमा परवल बेच्दै आएका उनले उत्पादन बढी भएको र भारतीय परवल समेत भित्रिएकाले यस बर्ष अली सस्तोमा बिक्री गर्नु परेको गुनासो गरे । बिउ मलखाद सिंचाइमा गरी १० हजार लगानी गरेका उनले सरकारले आफुहरुलाई नहेरेको गुनासो गरे । ‘हामी आफ्नै लगानी र बलबुताले परवर लगायतका तरकारी उत्पादन गर्दै आएका छौं, सरकारले हाम्रो लागि एक पैसा पनि अनुदान दिएको छैन’ बृद्ध किसान पासीले भने ।’ पासीको पुरै परिवार त्यही परवल लगायतका तरकारी खेतीमा लागि परेका छन् ।
परवल टिपेर बजारमा पठाउने चटारोमा रहेकी तौलेश्वरकी श्रीमती अनाराले भनिन्‘ कृषि मन्त्री आफ्नै जिल्लाको भएको सुनेकी छु तर यहाँ कसैले पनि अहिले सम्म कुनै सरकारी अनुदान पाएका छैनन्’ । ‘डेढ महिना अघिसम्म ५० देखि ८० सम्म प्रति किलो परवल बिक्री हुन्थ्यो अहिले प्रति किलो ४० देखि ५० रुपैँयामा बिक्री हुने गरेको छ ।
परवल सहीत खेतमा करेला, लौका, काँक्रो, तिरई समेत उत्पादन गरी उनीहरुले आम्दानी गर्दै आएका छन । गगनीका अर्का किसान सिवड मल्लाहले भने अहिले सम्म २० हजारको मात्र परवल बेचेको बताए । यस बर्ष अझै सम्म परवलको भाउ ठीक नै रहेको उनले बताए । ‘हामीले उत्पादन गरको परवल जिल्ला बाहिर निकासी गर्न पाएका छैनौं, यसका लागि कसैले पहल समेत गरेका छैन्’ खेतमा उत्पादन भएको परवल टिप्दै उनले भने ‘हामीहरुको समस्या कसैले बुझ्दैनन्’ । ‘बिउ भारतबाट किनेर ल्याउनु पर्छ सिंचाइका लागि पनि कसैले सहयोग गरेको छैन्, हामी भगवानको भरोसामा छौ’ निधारमा आएको पसिना गम्छाले पुछ्दै उनले भने ।
गगनीका सुर्दशन मल्लाहले अहिले सम्म १० हजारको परवल बिक्री गर्र्न सकेको बताए । ‘जोताई बिउँ, सिंचाई, बिषादीमा धेरै लगानी गर्नु पर्छ, परवलको भाउ सस्तैमा लगानी अनुसार यसबर्ष भने राम्रो आम्दानी गर्न नसकेको उनले बताए । सरकारले किसानलाई पेन्सन, अुनदान लगायतका बिभिन्न योजनाहरु घोषणा गरे पनि गगनीका किसानहरुलाई भने त्यसले नछोएको तौलेश्वर पासीले गुनासो गरे । ‘हाम्रो गाउँले परवल लगातयका तरकारी उत्पादनमा नाम कमाएको छ तर सरकारको नजर भने यहाँ अझै सम्म परेको छैन’ उनले आक्रोसित हँुदै भने ।
गगनीमा स्थानीय जातको परवल लगाईने गरिएको छ । गाउँलाई तरकारी जोनसंग जोड्न गतबर्ष राधा कृष्ण तरकारी कृषक समुह दर्ता गरिएको छ । समुहका अध्यक्ष जगदीश प्रसाद मल्लाहले गाउँका किसानहरुले आफ्नै बलबुताले तरकारी खेती गरेको बताए । ‘गगनी अझै सम्म कृषि मन्त्री र अन्य निकायको नजरमा परेको छैन्,’ उनले दुःखी हुँदै भने ‘सिंचाइको ब्यवस्था गरिए तरकारी खेतीका लागि धेरै सहज हुने उनले बताए ।
जिल्लामा गगनी खोरिया, बाँसखोर, तिलौरी, बलरमवापुर लगायतका गाउँको बगरमा परवर खेती हुने गरको तरकारी जोन कपिलवस्तुले जनाएको छ । तरकारी जोनका प्रमुख राकेश ओझाले गगनी परवर उत्पादनमा नमुना बनेको बताए । गगनीलाई तरकारी जोनमा समेटिने बताए । तरकारी जोनको कार्यक्रम लागु भई सकेकोले अब तरकारी उत्पादन, बजारीकरण लगायतका किसानहरुको धेरै समस्या समाधान हुने उनले बताए । जिल्लामा ३५ हेक्टरमा परवल खेतीबाट २ सय मेट्रिक टन उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  ८ : ०५ बजे