गणेश बेल्बासे संगम, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ को कार्यालय र माउट एभरेष्ट सामाजिक विकास संस्था कपिलबस्तुको आर्थिक सहयोगमा खयरभट्टीमा बिहीबार निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शितगंगा पशु सेवा कार्यालय र हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा स्थानीय पशुपालक कृषकहरुलाई माटेजुका, वाँझोपन निवारण तथा भिटामिन लगायतका औषधीहरु वितरण गरिएको थियो ।
जसमा ६५५ बाख्रा, ५१० कुखुरा, १४४ गाई तथा भैसीलाई निस्शुल्क स्वास्थ्य सिविर मार्फत औषधी वितरण तथा चेकजाँच गरीएको बताईएको छ । सिद्धारा कृषि तथा पशु विकास महिला सहकारीका ५५ सेयर सदस्य लाभान्वित भएको वडाध्यक्ष आलेले बताए । कार्यक्रमको सहजिकरण सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्थाले गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी एवम् वडा अध्यक्ष कपिल आलेले बहुसंख्यक जनता कृषि र पशुपालनमा आवद्ध भएकोले पशुपालन क्षेत्रको विकास भएमा मात्र देशको समृद्धि सम्भव रहेको धारणा राखे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता पशु विकासका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने खाँचो औल्याए । कार्यक्रम जनमैत्रि स्वाबलम्वि समूह खयरभट्टीकी अध्यक्ष लिलावती आलेको अध्यक्षता र बाबुराम आचार्यको सन्चालनमा सम्पन्न भएको थियो ।
३ असार २०७६ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया