मायादेवी अनलाइन, कपिलवस्तु ।
अत्यधिक गर्मीका कारण तराईका सडकमा ‘लु’को संकेत देखिएको छ । तातोका कारण चारैतिर तातो हावाले ‘लु’ देखिने खतरा बढिरहेको छ । विशेष गरी स्कुले बालबालिका, वृद्धवृद्धा र मजदुर यसको मारमा परेका छन् । टिनका छानामुनिका कक्षाकोठामा विद्यार्थीहरु छटपटाइरहेका छन् । सार्वजनिक सवारीसाधनमा खचाखच यात्रुलाई पनि उखरमाउलो गर्मीले सास्ती दिएको छ ।
मुस्किलले धानको बिउ राख्न भ्याएका गराहरु चिराचिरा परेका छन् । पोखरीमा पानी सुक्दा पशुचौपायालाई पिलाउने पानीको समेत समस्या भएको छ । कपिलवस्तु सहित तराईका जिल्लामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस नाघेपछि तराईको जनजीवन कष्टकर भएको छ । ज्येष्ठ नागरिकहरुले यसलाई इतिहासकै सबैभन्दा गर्मीका रुपमा लिएका छन् । असार लागिसक्दा पनि वर्षा नभएपछि किसानहरु पनि आत्तिएका छन् ।
लामो खडेरीका कारण किसानहरुले लगाएको मकैलगायत तरकारी बाली पनि सुकिसकेको छ । गर्मीका कारण पानीका मुहानहरु सुक्न थालेका छन् । सबै खानेपानी संस्थाहरुले पानी वितरणको समयमा भारी कटौती गरेका छन् ।
कुवामा समेत पानी नआउँदा विभिन्न विद्यालय तथा सर्वसाधारणहरुलाई खानेपानीका लागि सास्ती हुने अवस्था आएको छ । ट्यांकरको पानी किनेर जोहो गर्दै आएका विद्यालयहरुले अहिले पैसा तिर्दासमेत पानी पाउन सकेका छैनन् । गाउँघरमा समेत सर्वसाधारणहरु वरपीपलको छहारीमा विश्राम लिने अवस्था आएको छ ।
यसैबीच गर्मीका कारण वाणगंगाका सम्पूर्ण शैक्षिक संस्था सोमबार देखि ३ दिनका लागि बन्द गरिएको छ । गर्मी अत्यधिक बढेपछि नगरका सम्पूर्ण विद्यालयहरु आज देखि ३ दिनका लागि बन्द गर्ने निर्णय भएको हो । तीन दिन जाडो बिदा कट्टा हुने गरी बिदा दिएको वाणगंगा शिक्षा शाखाका अधिकृत खिम बहादुर जिसीले बताउनुभयो । यस अघि पनि अत्याधिक गर्मीका कारण वाणगंगाका शैक्षिक संस्था एक साताको लागि बन्द गरिएको थियो ।
यता शिवराज नगरपालिकाले पनि मंगलबार देखि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने भएको छ । अत्याधिक गर्मी बढेकोले असार ६ गतेसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
२ असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया