९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

३० हजार नगदसहित सिद्धार्थ क्याम्पसका उप-प्रध्यापक खनाल सम्मानित



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्चीका उप प्रध्यापक गोविन्द खनाल प्रदेश ५ स्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम हुनुभएको छ । लुम्बिनी भ्रमण बर्ष २०७६ को अवसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रममध्ये साहित्य तथा संस्कृति उपसमितिले आयोजना गरेको ‘बुद्ध दर्शन र शान्ति’ शीर्षकको स्थलगत प्रदेश स्तरीय खुल्ला निबन्ध प्रतियोगितामा खनाल प्रथम हुनुभएको हो । उहाँले प्रदेशका बिभिन्न जिल्लाबाट सहभागी भएका ६५ जनालाई पछि पार्दै नगद रु. ३० हजार र प्रशंसापत्र ग्रहण गर्न सफल हुनुभएको थियो ।
उहाँलाई लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजना गरिएको विशेष कार्यक्रम मार्फत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सम्मानित गर्नुभएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका उप–कुलपति प्राध्यापक डाक्टर हृदयरत्न बज्राचार्यको अध्यक्षता, साहित्य तथा संस्कृति उपसमिति संयोजक गितु गिरीको संयोजनमा भएको सम्मान ग्रहणमा विजयी खनालले प्रदेशमै आफूले प्रथम स्थान हासिल गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा कला र साहित्यको माध्यमबाट बुद्धको शान्ति सन्देश विश्वभर छर्न थप हौसला मिलेको मायादेवी अनलाइनलाई बताउनु भयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एमएमा विशिष्ट श्रेणी हासिल गर्नुभएका खनालले सिद्धार्थ क्याम्पसमा लामो समयदेखि अनिबार्य अंग्रेजी विषय अध्यापन गराउदै आउनु भएको छ । यस्तै नेपाली तथा अंग्रेजी साहित्य र कलामा पनि उहाँ पोख्त हुनहुन्छ । प्रतियोगितामा गुल्मीबाट कविता पन्थीले द्धितीय स्थान हासिल गर्दा कपिलवस्तु बाणगंगाकी शुशिला भुसालले तृतीय स्थान हासिल गर्नुभएको थियो । द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार र ५ हजारसहित प्रशंसा पत्रपाएका छन् ।
सम्मान कार्यक्रममा प्रदेश सांसदहरु, भिक्षु भिक्षुणी, लुम्बिनी विकास कोषका अध्यक्ष, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन मणिकरत्न शाक्य, सिद्धार्थ क्याम्पसका प्राचार्य खेमराज शर्मा, रोमकान्त घिमिरे लगायतको उपपस्थिति रहेको थियो ।
यसैबीच आफ्नो क्याम्पसबाट सहभागी भएर उपप्रध्यापक गोविन्द खनालले प्रतियोगितामा प्रथम स्थान हासिल गरेकोमा सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख खेमराज शर्माले खनालाई बधाई दिनु भएको छ । खनालले क्याम्पसको मात्र नभएर सिंगो कपिलवस्तुकै नाम उचो बनाउनु भएको भन्दै बधाई ज्ञापन गर्दै उच्च प्रगतिको कामना गर्नुभएको हो ।

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  ७ : १२ बजे