काठमाडौं ।
इंग्ल्यान्डमा जारी १२ औं आइसिसी विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकाले सहज जित निकालेको छ। एसियाली देश अफगानिस्तानलाई दक्षिण अफ्रिकाले ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
दक्षिण अफ्रिकालाई डकवर्थ लुइस नियमका आधारमा जितका लागि ४८ ओभरमा१ सय २७ रनको लक्ष मिलेको थियो। उक्त लक्ष दक्षिण अफ्रिकाले २८.४ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो।
दक्षिण अफ्रिकाका प्ररम्भिक ब्याट्सम्यनद्वय क्विन्टन डि ककले ६८ र हाशिम आमलाले अविजित ४१ रन बनाए। यी दुवै ब्याट्सम्यानले पहिलो विकेटका लागि महत्वपूर्ण १ सय ४ रनको साझेदारी गरेका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङका लागि मैदानमा उत्रिएको अफगानिस्तानका ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरका सामु लामो समय मैदानमा टिक्न सकेनन्। अफगानिस्तानको पूरा पारी ३४ .१ ओभरमा मात्र १ सय २५ रनमा समेटिएको थियो। अफगानिस्तानका राशिद खानले ३५, प्ररम्भिक ब्याट्सम्यान नुर अली जारदानले ३२, तथा हजरतुल्लाह जजाईले २२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिरले २९ रन खर्चिएर ४ र क्रिस मोरिसले १३ रन दिएर ३ विकेट हात पारे।
जारी विश्वकपमा अफगानिस्तानको यो लगातार चौथो हार हो भने दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गराएको छ। यसअघि उसले ३ खेल गुमाएको थियो।
प्रतिक्रिया