एजेन्सी ।
एकदिवशीय विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई अहिलेसम्म हराउन सकेको छैन। तरपनि यी दुई टोलीबीच हुने खेल प्रतियोगिता अगावैदेखि चर्चामा रहन्छ।
वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकपमा सोमबारका लागि तय भएको पाकिस्तान (भारत भिडन्त निश्चित छ कुनै सामान्य जित हारमा मात्र सिमित रहने छैन। यी दुई देशका समर्थकहरु यसलाई राजनीति अनि धर्मसँग जोडेर हेर्छन्।
लिग चरणको खेल भएपनि यसको महत्व उपाधि जित्नु जत्तिकै हुन्छ यी देशका समर्थकहरुका लागि। धर्मका कारण आफुबाट छुट्टिएर अलग भएको पाकिस्तानसँग भारतको सम्बन्ध राम्रो छैन वर्षौँदेखि।
सिमा क्षेत्रमा अझैपनि यी दुई देशबीच तनाव भइरहन्छ। धर्मका कारण भएको तनावले दुई देश भावनात्मक हिसाबले सदियौँदेखि टाढा देखिन्छन्। यसकै परिणामका रुपमा यी देशबीच हुने भिडन्तले एक अर्काप्रति राष्ट्रिय गौरवको महत्व राख्ने गर्दछ।
दुई वर्षअघि आयोजित च्याम्पियन्स ट्रफिको फाइनलमा पाकिस्तानले भारतलाई हराउँदा विजय उत्सव मनाईएको थियो पाकिस्तानमा। अनि यता भारतीय समर्थकहरु निकै निराश बनेका थिए। यस्ता निराशाहरु खेलाडीको घरहरुमा भौतिक आक्रमण भएर पनि प्रतिबिम्बित हुने गरेका छन्। ठुला प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको त्यो पहिलोपटक थियो।
विश्वकपजस्तो विश्वभर क्रिकेटको माहोल ल्याउने प्रतियोगितामा भारतले पाकिस्तानमाथी निरन्तर जित हात पार्दै आएको छ। हालसम्म विश्वकपमा यी दुई टोलीबीच ६ पटक प्रतिस्पर्धा भएकामा ती सबैमा भारत विजयी भएको थियो।
सन् २००९ यता पाकिस्तान र भारतबीच भएका १४ एकदिवशीय क्रिकेटमा पाकिस्तान केवल पाँचपटक विजयी भएको छ भने बाँकी सबै खेलमा भारतले जित हात पारेको छ। यी नतिजाका बाबजुत पनि भारत र पाकिस्तानबीचको खेलले यी दुई देशको मात्र नभएर विश्व क्रिकेटकै ध्यान तान्ने निश्चित छ। वर्षाले खेल प्रभावित नभए प्रतिस्पर्धाको रोमान्चकता देखिने छ।
जारी विश्वकपमा भारतले हार ब्यहोरेको छैन। उसले खेलेका तीनवटै खेल जितेको छ। पाकिस्तानले चार खेलमा एक जित र दुई हार ब्यहोरेको छ भने एक खेल वर्षाका कारण रद्ध भएको थियो। यस्तो स्थितीमा भारतमाथी जित हात पार्न सके पाकिस्तानका लागि ‘यू टर्न’ हुन सक्छ। अपराजित रहेको भारतका लागि पाकिस्तानसँगको खेल केवल जितमा मात्र सिमित रहने छैन। पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई हराएको थियो।
१ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया