एजेन्सी ।
विश्वको पुरानो फुटबल प्रतिस्पर्धा कोपा अमेरिका फुटवल सुरु भएको छ । फुटबलको उर्वर भूमिका रुपमा रहेको दक्षिण अमेरिकी देशहरुबिचको महादेशीय प्रतिस्पर्धा साओ पाओलोमा नेपाली समय अनुसार शनिबार बिहान आतिसबाजीसहित सुरु भएको हो ।
सन् १९१६ मा पहिलो पटक आयोजना भएको प्रतिस्पर्धाको यो ४६ औँ संस्करणमा फुटवलको पावर हाउस ब्राजिलले सुखद सुरुवात गरेको छ । नेपाली समय शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराउँदै विजयी सुरुवात गरेको हो ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोश्रो हाफमा ब्राजिलले उत्कृष्ट कम्ब्याक गर्यो । ५० औँ मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेको ब्राजिलले त्यसको तीन मिनेटपछि थप एक एक गोल गर्यो । यसमा फिलिपे कौटिन्हो नायक बने । पेनाल्टीपछि ५३ औँ मिनेटमा उनले हेड मार्फत सुन्दर गोल गरे । त्यसपछि खेल सकिन ५ मिनेट बाँकी रहदाको समयमा एभर्टन सोएरिसले ८५ औँ मिनेटमा गोल गरेपछि ब्राजिल उद्घाटन खेलमा ३–० ले विजयी भयो । सुरुका वर्षमा वार्षिक रुपमा आयोजना भएको प्रतिस्पर्धा पछि आएर हेरक चार वर्षमा हुन थालेको थियो ।
आयोजक ब्राजिल चोटग्रस्त नेइमार बिना मैदानमा रहे पनि पहिलो खेलबाट उत्साहित भएको छ ।सन २००७ यता कोपा अमेरिकाको उपाधि जित्न नसकेको उसका लागि यसपटक घरेलु मैदानमा भएको प्रतिस्पर्धामा दबाब बढी छ । यस सिजनको मुखय दाबेदार टोलीको रुपमा ब्राजिल, चिली र अर्जेन्टिना छन् ।
अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सीका लागि यसअघिका दुई प्रतिस्पर्धामा अन्तिममा आएर बेहोरेको नमिठो अनुभवलाई उल्ट्याउने जिम्मेवारी, अवसर र चुनौती छ । र यो पटकको प्रतिस्पर्धा मेस्सीका लागि खेलाडीका रुपमा कोपा अमेरिकाको शायद अन्तिम सहभागिता बन्ने छ । उनलाई राष्ट्रिय टिमबाट उपाधिको खडेरी मेट्नु पर्ने दबाबयुक्त चुनौती छ ।
लगातार दुईपटक उपाधि जितेको चिले उपाधि रक्षाको प्रयासमा हुनेछ भने कोलम्बिया हामेश रोड्रिग्वेजको साथमा पुनः चम्किने लक्ष्यमा छ ।कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् ।
समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जे्न्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिली छन् ।
प्रतिक्रिया