काठमाडौं ।
जर्मनको कम्युनिस्ट पार्टीले नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहमाथि लगाएको प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ ।
बिहीबार जर्मनको मार्क्ससिस्ट-लेनिनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीपरिषदको कार्यालयलाई एक पत्र लेख्दै विप्लवमाथिको प्रतिबन्धको विरोध गर्नुका साथै उक्त प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ ।
उक्त पत्रमा भनिएको छ, “हामीले नेपाली सञ्चारमाध्यममार्फत नेपाल कम्युनिस्ट पार्टी ’विप्लव’ माथि प्रतिबन्ध लगाएको जानकारी पायौं । विप्लवमाथिको प्रतिबन्धको हामी विरोध गर्छौं र प्रतिबन्धको निर्णय पुनर्विचार गरी प्रतिबन्ध लगाउनु औचित्य विस्तृतरुपमा उपलब्ध गराउन आग्रह गर्छौं ।“
पत्रमा जर्मनमा पनि जर्मनकै अर्को कम्युनिस्ट पार्टी (केपीडी) माथि सन् १९५६ मा प्रतिबन्ध लगाएको र त्यसको परिणाम सकारात्मक नभएको उदाहरण प्रस्तुत गर्दै प्रतिबन्धको विरोध गरिएको छ ।
पत्रमा थप भनिएको छ, “वास्तवमै नेपालमा वामपन्थी र क्रान्तिकारी पार्टीबीच सैद्धान्तकि, वैचारिक तथा राजनीतिक भिन्नता हुन सक्छन् । तर, यसको समाधान भनेको सैद्धान्तिक बहस नै हो । क्रान्तिकारी शक्तिमाथिको प्रतिबन्धले साम्राज्यवादविरुद्धको संघर्षलाई कमजोर बनाउँछ ।“
सरकारले २६ चैतमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सरकारको उक्त निर्णयको देशभित्रै पनि चौतर्फी आलोचना भइरहेकै छ । यही समयमा प्रधानमन्त्री ओली युरोप भ्रमणमा रहेका बेला जर्मनको कम्युनिस्ट पार्टीले प्रतिबन्धको विरोध गर्दै पत्र पठाएको हो ।
३२ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया