९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

शुद्धोधन गाउँपालिकाले ५६ जनालाई रोजगारी दियो



हरि अधिकारी, कपिलवस्तु ।
कपिलवस्तुको १० वटा स्थानीय तह मध्ये शुद्धोधन गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम शुक्रबारदेखि शुभारम्भ गरेको छ । गाउँपालिकाको २ वटा वडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले २ वटा वडाका ५६ जनालाई रोजगारी दिदै प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । जिल्लाको ४ वटा गाउँपालिकामध्ये शुद्धोधन गाउँपालिकाले बेरोजगारलाई रोजगारीको अवसर दिएर अगाडी हुँदै विकास निर्माणलाई गति दिएको छ ।
शुद्धोधन गाउँपालिकाको वडा नम्बर १ र २ वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत २८।२८ वेरोजगार महिला पुरुषलाई रोजगारी दिइएको हो । उनीहरुले वडा नम्बर १ अन्तरगतको बगदीदेखि भड्सडवासम्म कुलो निर्माण, पतरीया देखि छपिया सम्म बाटो मर्मत र हुरिला बाँध अन्हराठ देखि सोहसाको कुलो मर्मत कार्य गर्नेछन् । त्यस्तै वडा नम्बर २ अन्तरगत सेखुइया देखि मदारढ सम्मको बाटोमा माटो पटान, श्रीनगर गाउँदेखि पोल्टी फर्मसम्मको बाटोमा माटो पटान र नन्दनगर गाँउको पश्चिमको कल्भर्टमा माटो पटानको काम लगाइएको छ ।
गाउँपालिका अध्यक्ष निसार अहमद खाँले विदेशमा गएर पसिना बगाउनु भन्दा स्वदेशमै श्रम र मेहनत गरे गाउँको विकास हुने बताउनुभयो । उहाँले श्रम गरेर जीविका चलाउन लाज मान्ने नेपालीले विदेशमा गएर जस्तोसूकै श्रम गर्ने गरेको बताउनुभयो ।
अध्यक्ष खाँले विदेश गएर ठुलो मान्छे बन्ने प्रबृतिलाई अन्त्य गर्नुपर्ने र स्थानीय स्तरमा श्रमको सम्मान गर्ने बताउदै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष सुधादेवी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोखरेल, वडा अध्यक्ष तिलकराम यादव, मनोज कुमार यादव, योजना अधिकृत ईश्वरी प्रसाद न्यौपानेले गलत बाटो रोजर चोर्ने लुट्ने भन्दा श्रम गरेर खाने मानिस सम्मानित हुने बताउनुभयो । रोजगार कार्यक्रम अन्तरगत २ वटा वडाका ५६ जनाले दैनिक ५ सय १७ का दरले ज्याला पाउनेछन् भने मासिक १५ हजार ५ सय कमाई हुनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६ शुक्रबार ००:००  ७ : ०७ बजे