मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आफ्नो कार्यकालमा नगरभित्रका सबै फुसका घर हट्ने बताउनुभएको छ । नगरपालिकाले यसै आर्थिक बर्षबाट फुसका घर विस्थापित गर्ने अभियानको थालनी गरेको भन्दै आफ्नो कार्यकाल भित्र सबै फुसका घरमा जस्तापाता लागेको देखिने बताउनुभयो । एकै बर्षमा सबै फुसका घर हटाउने चाहना भएपनि बजेटले नपुग्ने भन्दै हरेक बर्ष कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
बुद्धभूमि नगरपालिकाको वडा नं.- १ मा शुक्रबार वडाको आयोजनामा आयोजित जस्तापाता वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले पनि जस्तापाता वितरण गर्ने कार्यक्रम राखेको बताउनुभयो । चालु आवमा २५ लाख बजेट विनियोजन गरेर जस्तापाता लगाउने कार्यक्रम राखेको भन्दै आउँदो बर्ष ५० लाख छुट्याउने घोषणा गर्नुभयो ।
नगरपालिकाले २ सय बण्डल जस्तापाता किनेको भएपनि ठेकेदारले गुणस्तरमा कमजोरी गरेकोले वितरण गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो । ‘फुसका घर हटाउनका लागि नगरपालिकाले २ सय बण्डल जस्तापाता किनेको छ तर ठेकेदारले कमसल ल्यायो, त्यसैले मैले रोकेको छु, अब छिट्टै ठेकेदारसंग बसेर निकासमा पुगेर वितरण गर्छौं उहाँले भन्नुभयो ।’ टेण्डरबाट जस्तापाता खरिद गरेपनि ठेकेदारले कमसल ल्याएको भन्दै उहाँले गुनासो गर्नुभयो ।
नगर सरकार विपन्न, गरिब र दलित घरपरिवारको घर घरमा रहेको भन्दै नगरभित्रका कोही पनि दुखि हुन नपर्ने बताउनुभयो । समाजका अतिविपन्नका लागि नै सरकारले हक अधिकारका कामहरु गर्ने भन्दै त्यसको प्रत्यक्ष अनुभूति हुनेगरि आफुले काम गरिरहेको बताउनुभयो ।
आर्थिक अवस्था न्यून हुँदा फुसको छानोमा बस्नुपर्दाको पीडा कस्तो होला ? हावाहुँरी, जाडो, गर्मीमा फुसको बसोबास निकै कष्टपूर्ण छ उहाँले भन्नुभयो, “यसलाई विस्थापित गर्नु नै मानवताको ठूलो धर्म हो ।” नगर तथा वडाबाट समन्यव गरेर जस्तापाता वितरण गर्ने पनि उहाँले बताउनुभयो । वितरण गरिएका जस्तापाताको सहि सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
३१ जेष्ठ २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया