मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. -१ ले विपन्न, गरिब तथा दलित परिवारको घरमा जस्तापाता लगाईदिने अभियानको थालनी गरेको छ । वडाभित्र रहेको फुसका छाना विस्थापित गर्ने उद्देश्य अनुरुप शुक्रबारबाट वडाले जस्तापाता लगाईदिने अभियानको सुरुवात गरेको हो ।
शुक्रबार वडा कार्यालयबाट १० घरपरिवारलाई वडाले जस्तापता वितरण गरेको छ । कार्यक्रमको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले शुभारम्भ गर्नुभयो । वडाले चालु आवमा फुसको घर विस्थापित गर्नका लागि ५ लाख बजेट विनियोजन गरेको थियो । त्यहि बजेट भित्रबाट वडाले २१ बण्डल जस्तापाता खरिद गरेर १० घरपरिवारलाई वितरण गरेको हो ।
वडाभित्र रहेका गरिब, दलित र विपन्न घरपरिवारको तयाङ्क संकलन गरेर वडाले अति विपन्न, दलित र गरिब परिवारलाई पहिलो चरणमा जस्तापाता वितरण गरेको छ । वडाभित्र रहेका १२ गाउँका झण्डै एक सय घर फुसका छन् । आर्थिक स्तर अति न्यून भएकाहरुलाई पहिलो प्राथमिकता दिएर शुक्रबार जस्तापाता वितरण गरिएको वडा अध्यक्ष तेज बहादुर बस्नेतले बताउनुभयो ।
बाँकी फुसका घर भएकाहरुलाई आगामी आर्थिक बर्षमा जस्तापाता वितरणको कार्यक्रम राख्ने वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । आफ्नो कार्यकालमा वडाभित्रका कुनै पनि घर फुसका नहुने उहाँले दाबी गर्नुभयो । ‘फुसका छाना भएका घरपरिवार एक सय हुनुहुन्छ सबैलाई यसै बर्ष जस्तापाता दिन बजेटले पुग्दैन् वडाध्यक्ष बस्नेतले भन्नुभयो, आगामी बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइन्छ ।’
शुक्रबार वितरण गरेको जस्तापाता एक सय घरपरिवार मध्येपनि अति विपन्न परिवारका छन्, कोही असक्त हुनुहुन्छ, कोहीका छोराछोरी छैनन् वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “कतिपयले त जस्तापाता लगाउने सामथ्र्य पनि राख्नुहुन्न । त्यस्तो घरपरिवारलाई वडाले जस्तपाता लगाइदिन्छ ।”
वडा कार्यालयले प्रत्येक घरलाई दुई बण्डल जस्तापाता उपलब्ध गराएको छ । यद्यपी कतिपयको घरमा अढाई बण्डल जस्तापाता लाग्ने भएकोले सोही अनुसार प्रदान गरिने वडा कार्यालयले जनाएको छ । यसभन्दा अगाडी वडा नं. ४ बुढ्डीले पनि गरिब, दलित तथा विपन्न परिवारलाई जस्तापाता वितरण गरिसकेको छ ।
३१ जेष्ठ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया