९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुद्धभूमिका गाउँब्लक जग्गालाई धमाधम लालपूर्जा वितरण



मणि प्रसाद गैह्रे, बुद्धभूमि ।
जिल्ला नापि कार्यालय कपिलवस्तुले जिल्लाका विभिन्न गाउँमा रहेका गाउँब्लक जग्गाको नापी कार्य सम्पन्न गरी लालपूर्जा वितरण गरेको छ । सो अन्र्तरगत विहिबार बुद्धभूमि नगरपालिका वडा नं. ४ मा ५२ घरधुरीलाई जग्गाधनीको प्रमाणपत्र वितरण गरिएको हो ।
लामो समयसम्म जग्गाधनीको प्रमाणपत्र नपाएका स्थानीयहरु पूर्जा पाए संगै खुसी भएका छन् । वडा नं ४ की धनकुमारी भुसालले जग्गाधनी प्रमाण पाएपछि निकै नै खुुुसी भइन् । लामो समयसम्म गाउँब्लक जग्गामा बस्दा प्रमाण पाइन्छ पाइन्न भन्ने कुनै निश्चित थिएन बल्ल आएर आज पुर्जा पाइयो उनले भनिन् ।
वितरण समारोहमा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पवन कुमार थारु, कार्यपालिका सदस्य खिमकला पाण्डेय, प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल, नापी कार्यालयका टोली प्रमुख महेश कुमार यादवको सहभागिता रहेको थियो ।
जिल्लामा यो वर्ष ७ सय बढि लाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको नापी अधिकृत मोहन बन्जाडेले बताए । जिल्लामा वि.सं. २०२७ सालमा नापी भएको र सो बेलामा प्राविधिकको कमी भएको कारण गाउँमा एउटै कित्तामा नापेपछि गाउँब्लक हुन गएको र हालसम्म समस्या हुन गएको थियो ।
वि.सं. २०६७ सालदेखि सुरु भएको नापी यो वर्षमा सम्पन्न हुने समेत बन्जाडेले बताए । यस वर्ष बुद्धभूमि र कपिलवस्तु नगरपालिकामा गाउँब्लकको नापी गरी प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ९ : ४४ बजे