काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत खुलाइएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने पार्टीको अडान रहेको प्रष्टयाउनु भएको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पार्नुभयो ।
प्रवक्ता शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताउनु भयो । संविधानलाई केन्द्रमा राखेर लोकसेवा आयोगले फेरि विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता शर्माको भनाइ छ ।
प्रवक्ता शर्माले त्यस विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोकसेवा आयोगले त्यो विज्ञापन फेरि खुलाउन ढिलाइ गर्न नहुने पनि बताउनु भयो । कांग्रेसले पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष पनि निकालेको छ ।
पार्टीका प्रवक्ता शर्माले जेठ २५ गते सम्पन्न पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालिएको पनि जानकारी दिनुभयो । पार्टीप्रतिको आकर्षण र सरकारप्रतिको जनताको विकर्षण रहेको पहिलो चरणको जागरण अभियानको क्रममा देखिएको प्रवक्ता शर्माको भनाइ छ ।
जनजागरण अभियानको क्रममा लामो पृष्ठभूमि भएका कम्युनिष्ट पार्टीका नेताहरुसहित ३१ हजार ६ सय ४२ जना अन्य पार्टीबाट आफ्नो पार्टीका प्रवेश गरेबाट पनि पहिलो चरणको कार्यक्रमबाट जनता आफ्नो पार्टीप्रति आकर्षित भएको निष्कर्षमा पुगिएको पनि नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आउँदो भदौ २४ गते बीपी जयन्तीको दिनबाट सुरु गर्नेछ । त्यस अघि कार्यक्रमका लागि आवश्यक निर्णय लिन असारको तेस्रो साता केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
३० जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया