इमरान खान, कपिलवस्तु ।
बिटा थाइलेसिया नामक रोगबाट प्रभावित भएकी कपिलवस्तुकी एक बालिकाका लागि तौलिहवाका युवाहरुले विद्यार्थीबाट खाजा खर्च कटाएर संकलन गरिएको सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
जिल्लाको बुद्धभूमी नगरपालिका वडा नम्बर–३ की ६ वर्षीया गृष्मा खनालमा जन्मिएको दुई महिनादेखि सो रोग देखिएको हो । तौलिहवा स्थित बाल सेना ग्रुपले सामाजिक सञ्जाल र विभिन्न विद्यालयका विद्यार्थीले खाजा खर्च कटाएको सहयोग रकम बापतको १ लाख ६१ हजार रुपैयाँ बालिकाका बाबु श्रीधर खनाललाई हस्तान्तरण गरेको हो ।
बाल सेना ग्रुपका अध्यक्ष शिवशंकर तमोली, कपिलवस्तु नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सुदिप पौडेल, तौलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ता र समुहका सदस्य भानु चतुरबेदी लगायतले खनाललाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम बुझ्दै गृष्माका बाबु श्रीधरले छोरीलाई जन्मिएको दुई महिनापछिनै सो रोगको संक्रमण देखिएको बताउनुभयो । उहाले पहिले मासिक १ पोका रगत दिनु पर्नेमा अब भने प्रत्येक २० दिनमा एक पोका रगत दिनु परेको बताउनुभयो ।
छोरीको उपचार भारतको बेंगलोरमा भैरहेको बताउनदै उहाले बोन म्यारोको ट्रान्सप्लान्ट गरेर गरिने भएकाले उक्त उपचारका लागि भारतीय २२ देखि २५ लाख खर्च लाग्ने बताउनुभयो । आफनो आर्थिक अवस्था न्यून भएका कारण छोरीको उपचार हुन नसकेको बताउँदै उपचारका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।
हालसम्म करिब ५ लाख रुपैया सहयोग संकलन भएको बताउदै उहाले युवाहरुको सहयोगले छोरीको उपचारमा केही हदसम्म सहयोग मिल्ने बताउनुभयो । बालिकाको उपचारका लागि तत्कालै ५ हजार रुपैया सहयोग गरेका वडा अध्यक्ष पौडेलले आफूले आवश्यक सहयोगका लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बालिकाको उपचारका लागि सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउने कार्य सँगै विभिन्न विद्यालयमा पुगेर विद्यार्थीले खाजा खर्चबाट कटाएर दिएको सहयोग रकम हस्तान्तरण गरिएको बाल सेना ग्रुपका अध्यक्ष शिवशंकर तमोलीले बताउनुभयो ।
३० जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया