दाङ ।
विदेशबाट आउने बिरामीका कारण दाङमा औलोको जोखिम रहेको पाइएको छ । सरकारले नेपालमा औलो रोग निवारण गर्न विभिन्न गतिविधि सञ्चालन गरे पनि तराईका सिमावर्ती जिल्लामा भारततर्फबाट आउने बिरामीका कारण यो रोगको जोखिम कायमै रहेको हो । सन २०१२ यता नेपालमा औलो रोगका कारण कसैको मृत्यु भएको छैन ।
तर, प्रत्येक वर्ष बिरामी भेटिएका छन । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार खुला सिमाका कारण भारतबाट बिरामी आवतजावत गरेका कारण जोखिम कायम रहेको हो । सरकारले भने सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त बनाउने लक्ष्य लिएको छ ।
दाङमा औलेका बिरामीमध्ये प्रत्येक वर्ष विदेशबाट आउनेको संख्या धेरै छ । दाङमा मात्रै चालू आर्थिक वर्षको नौ महिनामा आठजना औलो रोग लागेका बिरामी भेटिएका छन् । जसमा ६ जना बाह्य देशबाट फर्केकाहरू रहेका छन् । बाँकी दुईजना जिल्लाभित्रकै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोगका निरीक्षक कमल चन्दले बताए । गत आर्थिक वर्ष दाङमा २७ जना औलो रोग लागेका बिरामी फेला परेका थिए ।
जनस्वास्थ्य कार्यालयका अनुसार २४ जना भारतलगायत देशबाट फर्किएका र अन्य तीनजना जिल्लाभित्रकै थिए । यसरी भारतबाट आउनेहरूका कारण औलो रोग निवारणमा चुनौती रहेकोे सम्बन्धित अधिकारीहरूले बताएका छन । भारतमा औलो निवारणको प्रभावकारी कार्यक्रम नचलेका कारण पनि त्यहाँबाट आएकाहरूमा बढी समस्या देखिएको छ ।
३० जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया