९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रेमनगर र चेत्रादेही जोड्ने पुलको सिलन्यास



मणि प्रसाद गैह्रे, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरकार्यपालिकाको वडा नं. १० मा स्थानीय घेराई नालामा पक्की पुल बन्ने भएको छ । नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले घेराई खोलामा निर्माण सुरु हुन गइरहेको प्रेमनगर र चेत्रादेही जोड्ने पुलको सिलन्यास गरे ।
बहुवर्षिय योजना अन्तर्गत ३ करोड २० लाख १७ हजार ७ सय ४० रुपैयाँको लगानीमा पाइल फाउण्डेसन आर सीसी पद्धतीबाट बुद्धभूमि नगरपालिकाको लगानीमा निर्माण सुरु भएको हो । पूलको निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न हुने भएको छ ।
स्थानीय खोलामा पूल नहूँदा हिउँदमा कजवेबाट आवात जावत गरे पनि वर्षा याममा खोला पार गर्न नसक्ने सो क्षेत्रका जनता लाभान्वित हुने भएका हुन् । यो संगै सो क्षेत्रका झण्डै २० हजार बटुवाहरु लाभान्वित हुने भएका छन् ।
भौगोलिक विकटताका कारण समस्या भोगिरहेको स्थानहरुका विकासमा आफु लागि परेको नगर प्रमुख केशब कुमार श्रेष्ठले बताए । नगरपालिकाको कार्यालय बुड्ढीबाट जिल्ला सदरमुकाम तौलिहवा जानका लागि सबैभन्दा छोटो दुरी पर्ने सो बाटोमा पुल नहुँदा भोग्नु परेको सास्ती अब हट्ने बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष त्रिलोकी खरविन्दले बताए ।
सो योजना अन्तर्गत ७ सय ४६ मिटर बाटोको स्तरोन्नती समेत गरिने नगरपालिकाले जनाएको छ । सडक स्तरउन्नतीका क्रममा पुलका साथ साथै एउटा कल्र्भट पनि निर्माण हुने सो आयोजना निर्माणको जिम्मा लिएको अर्घाखाँची श्रीराम जेभिका इन्जिनियर अशोक बस्यालले जानकारी दिए ।
२० मिटर लम्बाई रहेको सो पुलको ३० प्रतिशत काम चालु आर्थिक वर्षमा र बाँकी ७० प्रतिसत काम आउँदो आर्थिक वर्षमा सम्पन्न हुने ठेकेदार कम्पनीले जनाएको छ । पुल निर्माणको काम सुरु भएपछि आफुहरुलाई अव आवाज–जावतमा सहजता हुने स्थानीय बहरैची केवटले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ९ : १९ बजे