मायादेवी अनलाइन, तौलिहवा ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले जनताको सहभागीताले नै विकास निर्माणको कामले गति लिने बताउनुभएको छ । उहाँले गाउँपालिकाको विकास निर्माणमा जसले बढि श्रमदान गर्दछ, त्यहाँ बढि विकास हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोग तथा शुद्धोधन गाउँपालिकाको आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो कुरा बताउनुभएको हो ।
शुद्धोधन गाउँपालिका वडा नम्बर २ भुसुडिमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष खाँले गुणस्तरीय कामका लागि जनताले खवरदारी गर्न आग्रह समेत गर्नुभएको छ । गाउँपालिकाका केही बाटोघाटो र पूर्वाधार विकासमा कमसल काम भइरहेको भन्ने बारे नागरिकले सोधेको प्रश्नमा जवाफ दिदै अध्यक्ष खाँले गुणस्तरहीन काम भए तत्काल बन्द गर्ने बताउदै आफुले त्यसको अनुगमन गरिरहेको जानकारी दिनुभयो । गुणस्तरहीन काममा जनालाई खवरदारी गर्न गाउँपालिका अध्यक्ष खाँको आग्रह गर्दै इस्टिमेट अनुसार काम नभए भुक्तानी पनि रोकिने जानकारी दिनुभयो ।
गाउँपालिकाको शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, सिंचाई, कृषि लगाएतका क्षेत्रको सुधारमा आफु कटिबद्ध भएर लागेको बताउनुभयो । उहाँले लक्षित वर्गको कार्यक्रममा चिया समोसा, मिठाई खुवाएर खर्च गर्ने परिपाटी अन्त्य गर्दै महिला, बालबालिका, अपाङ्ग तथा ज्येष्ठ नागरिकको क्षेत्रमा उपलब्धी देखिने गरी आउने वर्षमा काम गर्ने योजना रहेको समेत बताउनुभयो ।
मेरो कामको मूल्याङ्कन जनताले गर्ने बताउदै बाँकी ३ वर्षको अवधीमा गाउँपालिकाको विकासमा धेरै परिवर्तन ल्याउने अध्यक्ष खाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यालयमा बसेर काम नगर्ने कर्मचारीलाई एकछिन पनि नराख्ने बताउदै सवै कर्मचारीलाई आ–आफनो जिम्मेवारी सही तरिकाले पुरा गर्न समेत निर्देशन दिनुभयो । उहाँले पालिकामा एम्बुलेन्स संचालन, कन्या कलेज, बोरिङ्ग निर्माण, हेण्डपाइप वितरण, अपाङ्गता भएकालाई स्कुटी वितरण तथा प्रत्येक वडा कार्यालयमा बडा नागरिक पत्र लगाएतका काम भएको जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोखरेलले सेवाग्राहीलाई गाउँपालिकाले सहज तरिकाले सेवा सुविधा उपलब्ध गराएको बताउनुभयो । उहाँले विषयगत शाखा तथा कर्मचारीहरुबाट ढिलासुस्ती तथा कमजोरी भए सेवाग्राहीलाई आफुसंग तत्काल गुनासो गर्न आउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा सहभागी युवा, महिला तथा किसानहरुले विउविजन, हेण्डपाइप, बाटोघाटो गुणस्तर नभएको, कर्मचारीको तलब भत्ता, वडा अध्यक्षले समय नदिएको, योजनाको भुक्तानी, शिक्षा, स्वास्थ्य तथा सरसफाई राम्रो नभएको लगाएतका विषयमा प्रश्न राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारी तथा मनिष कार्कीको संचालनमा भएको कार्यक्रममा सदस्य बाबुराम रायमाझीले नागरिक प्रतिवेदन तथा वर्हिगमन अभिमत प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया