काठमाडौं ।
पाकिस्तानमाथि ४१ रनको नतिजा निकाल्दै अष्ट्रेलियाले जारी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित दर्ता गरेको छ । ३ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५ दशमलव ४ ओभरमा २ सय ६६ रनमा अलआउट भएपछि अष्ट्रेलियाले तेस्रो जित निकालेको हो ।
पाकिस्तानका लागि इमाम उल हकले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । ७५ बल खेलेका इमामले ७ चौकाको मदतमा ५३ रन बनाए । मोहम्मद हफिजले ४६ रन बनाउँदा कप्तान सरफराज अहमदले ४० रनको योगदान दिए । हसन अलि ३२ रनमा पभेलियन फर्किँदा वाहब रियाजले ४५ रन बनाएका थिए ।
मोहम्मद अमिर,सहिन शाह अफ्रिदि,आसिफ अलि र सोएब मल्लीकको प्रदर्शन सम्झनलायक रहेन् । अष्टे«लियाका प्याट कुमिन्सले ३ विकेट लिए । मिचेल स्टार्क र केन रिचर्डसनले २–२ विकेट लिदाँ नाथन कल्टर र आरोन फिन्चले १–१ विकेट लिएका थिए ।
यसअघि कन्टी ग्राउण्डमा पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३ सय ७ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा डेबिड वार्नरले शतक बनाउँदा कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गरे । १ सय ११ बल खेलेका वार्नरले ११ चौका र १ छक्काको मद्दतमा १ सय ७ रन जोडे । जारी विश्वकपमा पहिलो शतक बनाएका वार्नरको एकदिवसीय क्रिकेट करिअरमा शतक संख्या १५ पुगेको छ । एक वर्षको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका वार्नर सहिन साह अफ्रिदीको बलमा इमाम उल हकमार्फत क्याच भएका थिए ।
कप्तान आरोन फिन्चले २ रन बनाए । ८४ बलको सामना गरेका फिन्चले ६ चौका र ४ छक्का प्रहार गरे । शतक नजिक पुगेका उनी मोहम्मद अमिरको बलमा मोहम्मद हफिजमार्फत क्याचको सिकार भए । फिन्च र वार्नरको उत्कृष्ट साझेदारीमा अष्ट्रेलियाले २२ ओभरमा विना विकेटको क्षतिमा १ सय ४६ रन जोडेको थियो । तर लगत्तै फिन्च आउट भए । सा मर्सले २३ रन जोड्दा ग्लेन म्याक्सवेलले २०, स्टेभन स्मिथले १०, उसमान ख्वाजाले १ रन बनाए । मोहम्मद अमिरको बलमा मर्स क्याचआउट हुँदा म्याक्वेल अफ्रिदीको बलमा बोल्ड भए । स्मिथ मोहम्मद अफिजको बलमा आसिफमार्फत तथा ख्वाजा अमिरको बलमा वाहब रियाजमार्फत क्याच भए ।
नाथन कल्टरलाई वाहब रियाजले २ रनमा पवेलियन फर्काउँदा प्याट कुमिन्स २ रनमा हसन अलिको बलमा सरफराजमार्फत क्याच भए । एलेक्स केरी २० रनमा एलबिडब्लु धरापमा पर्दा मिचेल स्टार्कले ३ र केन रिर्चडसन १ रन बनाए । पाकिस्तानका मोहम्मद अमिरले ५ विकेट लिए । सहिन साह अफ्रिदीले २ विकेट लिदाँ हसन अलि, वाहब रियाज, मोहम्मद हफिनले १–१ विकेट लिएका थिए ।
२९ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया