९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

किसानलाई समस्यै समस्या, कहाँ छ मुलुक कृषि प्रधान ?



भैरहवा ।

खेतीपातीको समय सुरु भएको छ । मानो छरेर मुरी उब्जाउनका लागि किसानहरु खेतबारीमा होमिएका छन् । नदीनालाहरुमा पानीको बहाव छैन । मुहान सुक्दै गएका छन् । बीउ छरिएको खेत चिरा चिरा परेको छ । किसानहरु ट्यांकरमा पानी ल्याएर धानको बीउ राखिरहेका छन् । सिँचाइको मात्र अभाव होइन । किसानलाई रोपाईका लागि चाहिने मलको अभाव उस्तै छ । किसानलाई रोपाई कसरी गर्ने भन्ने चिन्ता छ ।

धान रोप्ने बेला डीएपी मल चाहिए पनि मल नपाइएको ओमसतिया गाउँपालिका ६ नरयानापुरका कृषक धर्मदेव धवलले गुनासो गर्नुभयो । मल संगै सिँचाईको पनि उस्तै समस्या रहको उहाँले बताउनुभयो । समयमा मल उपलब्ध नहुँदा यसवर्ष धानको उत्पादनमा गिरावट आउने बताउनुभयो ।

जिल्लामा ३० हजार मेट्रिकटन डीएपी मल आवश्यक छ। तर, ६० प्रतिशत मल मात्रै किसानले पाएका छन् । कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाको गोदाममा युरिया मल प्रशस्त भए पनि डीएपी छैन । क्षेत्रिय प्रबन्धक राजेन्द्र बहादुर कार्कीले मल आपूर्ति गर्न नसकिएको बताउनुभयो । केन्द्रसँग माग गरेपनि उपलब्ध नहुने गरेको उहाँ बताउनुहुन्छ ।

कृषक सेवा समिति रुपन्देहीका अध्यक्ष देव धवलले प्रत्येक वर्ष खेतीपातीको समयमा किसानलाई मलको अभाव हुने गरेको बताउनुभयो । किसान भारतीय सहरबाट लुकिछिपी मल ल्याउन बाध्य छन् । हरेक वर्ष मलको अभाव हुने गरे पनि सरकारले समस्या समाधानमा ध्यान नदिएको किसानहरुको गुनासो छ । –अन्नपूर्णबाट

प्रकाशित मिति : २९ जेष्ठ २०७६ बुधबार ००:००  ५ : १३ बजे