९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तानसेनमा खानेपानीको चरम अभाव



पाल्पा ।
सुख्खा मौसमसँगै पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको समस्या देखिन थालेको छ । तानसेन बजारभित्रका अधिकांश ढुङ्गेधारा, खानेपानीका मुहान सुकेका छन् ।
अहिले तानसेनवासीलाई पानीको जोहो कसरी गर्ने भन्ने समस्याले पिरोलिएको छ । गर्मीयाम बढेसँगै दिन प्रतिदिन खानेपानीको समस्या विकराल बन्दै गएको छ । तानसेनमा अहिले एक हप्तादेखि पन्ध्र दिनमा एक पटक धारामा पानी आउने गरेको स्थानीवासीको गुनासो छ । बालबालिकालाई विद्यालय पठाउनभन्दा पनि खानेपानीको जोहो गर्नुपर्ने बाध्य रहेको तानसेन नगरपालिका–६ का नन्दबहादुर आलेले बताउनुभयो ।
तानसेनमा अहिले भुल्के, सिस्ने, होलाङ्दी र तीनधाराबाट पम्पिङ गरेर खानेपानी आपूर्ति गरिँदै आएको छ । एक घण्टाको बाटो हिँडेर पानी लिन आउँदा दुई घण्टासम्म लाइनमा बस्नुपरेको तानसेनमा कोठा भाडा गरी बस्ने हेमा रानाले बताए । एक घण्टाको समय पैदल हिँडेर आए पनि धारामा पानी भर्नेको लाइनले पालो पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ ।
खानेपानी अभावले विशेषगरी तानसेनमा पढ्न बसेका विद्यार्थीहरुलाई बढी समस्या परेको छ । आफ्नो पढाइलाई समेत थाती राखेर पानीको व्यवस्था गर्नु परेको त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी बिमल पौडेलले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  ७ : ३१ बजे