काठमाडौं ।
रुपन्देहीमा निर्माण भएको झण्डै ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । औद्योगिक क्षेत्रको रुपमा तीव्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट सञ्चालनमा आएको हो ।
भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३/११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ ।
योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
उहाँले भैरहवा सेज परिसरभित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत् दिन सकिने बताउनुभयो । आफ्नो परिसरभित्र ३३/११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सबस्टेसन निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।
नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सञ्चालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो ।
आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३ को असोजमा ठेक्का सम्झौता भएको थियो । केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।
प्रतिक्रिया