९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाल्पामा रैथाने जातका धानको बीउ लोप हुँदै



रामपुर ।
पाल्पा जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमति, झिनुवा, आमझोत्ते, लगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको किसानको भनाइ छ ।
पछिल्लो समय बजारमा पाइने विभिन्न थरिका धानको बीउबाट उत्पादन धेरै हुने, पानी कम लाग्ने भएपछि किसानको यसतर्फ आकर्षण बढेकोे कृषि शाखा कार्यालय रामपुरका कृषि विकास अधिकृत रामहरि पाण्डेयले बताए । उनले उत्पादन बढी हुने, धानको नल छोटो हुने र स्याहार्न पनि सजिलो हुने भएपछि किसान उन्नत धानको बीउतर्फ आकर्षित भएका छन् ।
सावा मनसुनी, शान्ति, जानकी, जीरामसिना, साना मनसुली, युएस, खुमल चार लगायतका धान खरीद गरेर अहिले किसान धानको बीउ राख्न व्यस्त देखिन्छन् । नयाँ उन्नत जातका धानको बीउ लगाएपछि कीरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण किसानले पहिले पहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । किसानले परम्परागत शैलीमा कृषि कार्य गर्न छाडेको र विभिन्न प्रविधिको प्रयोगले कृषि क्षेत्र सहज बन्न थालेको छ ।
पुराना धानबाट खाना स्वाादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ किसानको ध्यान कम जान थालेको किसान हुमादेवी देवकोटाले बताउनुभयो । जिल्लाको आठ हजार ६२० हेक्टर क्षेत्रफल धानका लागि उपयुक्त रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  ६ : ३३ बजे