९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने



काठमाण्डौ ।
नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गएको वैशाख ४ गते त्यो भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष कक्ष आईएसएसमा रहँदै आएको त्यो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो ।
नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार त्यस दिन त्यो भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
’नास्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम सुरु हुनेछ । भू-उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ’, ढकालले भन्नुभयो, ’जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।’ त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भू-उपग्रह प्रक्षेपण हुने बताइएको छ ।
डेढ महिनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ ।
जाक्साले त्यस भू-उपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । त्यस प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महिनादेखि तीन वर्षसम्मको हुनेछ । सरकारले नेपालमा सन् २०१७ देखि त्यस भू-उपग्रह निर्माणको योजना अघि बढाएको हो ।
रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७६ सोमबार ००:००  ३ : ४८ बजे