एजेन्सी ।
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ देखि साउथह्याप्टनमा सुरु हुने छ ।
वेस्ट इन्डिज दोस्रो जितको खोजिमा हुँदा अफ्रिका पहिलो जित निकाल्ने दाउमा छ । इंग्ल्यान्ड, बंगलादेश र भारतसँग पराजित भएको अफ्रिकालाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । तर वेस्ट इन्डिजबीरुद्ध चोट ग्रस्त अफ्रिकालाई जित निकाल्न पक्कै सहज हुने छैन । वेस्ट इन्डिजले पाकिस्तानमाथि सहज जित निकाल्दा अष्ट्रेलियाविरुद्ध पराजित भएपनि कडा टक्कर दिएको थियो ।
विश्वकपमा यी दुई देशबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा अफ्रिका ४ र वेस्ट इन्डिज २ पटक विजयी भएका छन् । कुल ६१ वान डे खेल हुँदा अफ्रिका ४४ खेलमा विजयी भएको छ भने १५ खेलमा पराजित भएको छ । २ खेल नतिजा बिहीन छ ।
चोटले ग्रस्त दक्षिण अफ्रिकालागि तीव्र गतिका बलर लुन्गी एन्गीडी अझै पूर्णरुपमा फिट भएका छैनन् । अफ्रिकाको मध्यक्रम ब्याटिङ केहि कमजोर देखिएको छ । कप्तान फाफ डु प्लेसिस, विकेटकीपर क्विन्टन डी कक, रस्सि भान डर दुसेन, डेविड मिलर र एडेन मारक्रम ब्याटिङका प्रमुख हतियार हुन् । तीव्र गतिका बलर कागिसो रबाडा र स्पिनर इमरान ताहिर अफ्रिका प्रमुख बलर हुन् । एन्डिलो फेलुक्वायो पनि राम्रै लयमा देखिन्छन् । यी खेलाडीको प्रर्दशनमा अफ्रिका जित निर्भर रहने छ । अलराउण्डर जेपी ड्यूमिनी नचल्नु अफ्रिकालाई थप चिन्ता बनेको छ ।
वेस्ट इन्डिजका ओपनर क्रिस गेल, शाई होप, अलराउण्डर आन्द्रे रसेल, कप्तान जेसन होल्डर, कार्लोस वेर्थवेट, शेलडन कट्रेलको लय रोक्न अफ्रिकालाई कठिन पर्ने देखिन्छ । आन्द्रे रसेलले आफ्नो अलराउण्डर प्रर्दशनमा टोलीको सहज जित पक्का गर्न सक्छन् ।
२७ जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया