९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बर्खा लाग्योः अर्को हप्तासम्म नेपालमा मनसुन भित्रने



काठमाडौं ।
यस बर्षको मनसुन अर्को हप्तासम्म नेपाल भित्रने अनुमान छ । मनसुन शुक्रबार भारतको केरला आइपुगेको र अब विस्तारै नेपाल भित्रने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । यस बर्षको मनसुन एक हप्ता ढिलो हुने भएको हो । सामान्यतया जुन १० अर्थात् सोमबार आजदेखि मौसम भित्रनुपर्ने भए पनि यसपटकको मनसुन एक हप्ता ढिला गरी भित्रने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सुरुमा झापा र मोरङ हुँदै मध्यक्षेत्रमा मनसुन सक्रिय हुनेछ । यसबर्ष पूर्वी भेगमा कम र पश्चिममा औषत पानी पर्ने पूर्वानुमान गरिएको छ ।
अहिले धानको बिउ राख्ने बेला हो । कुलो पानी भएका क्षेत्रमा बिउ उम्रिसकेको भएपनि आकाशे पानी पर्खेर बसेका किसानलाई त्यसै अनुसार तयारी गर्न कृषि विज्ञले आग्रह गरेका छन् ।
मनसुनअघि सक्रिय बनेको प्रि मनसुनले अझै आकाश छाडेको छैन । प्रि(मनसुन र हिउँदे बर्षा भने पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ ।
यसैविच सोमबार मध्य, पूर्व र पश्चिमी पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित सामान्य बर्षाको संभावना छ । तर तराई क्षेत्रमा भने मौसम सफा रहेको र सोमबार दिनभर नै सफा हुने मौसमविद् बासीले बताउनुभयो ।
काठमाडौं उपत्यकामा अहिले मौसम सफा छ । बेलुकापख आंशिक बदली हुन सक्ने अनुमान छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६ सोमबार ००:००  ९ : २२ बजे