९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विश्वकप क्रिकेटको पावर हाउस अष्ट्रेलिया भारतसंग पराजित



एजेन्सी । पाँच पटकको च्याम्पियन अष्ट्रेलियामाथि ३६ रनको नतिजा निकाल्दै भारतले आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगतार दोस्रो जित दर्ता गरेको छ । शिखर धवनसँगै कप्तान विराट कोहलीको उत्कृष्ट प्रदर्शनमा प्रेरित भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।

३ सय ५३ रनको विशाल लक्ष्य पच्छाएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा ३ सय १६ रनमा अलआउटभएपछि भारतले उपाधि यात्रालाई बलियो बनाएको हो । अष्ट्रेलियाका लागि स्टेभन स्मिथ , डेविड वार्नर र एलेक्स केरीले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

ad ad ad
७० बल खेलेका स्मिथले ५ चौका र १ छक्काको मदतमा ६९ रन बनाए । भुवनेश्वर कुमारको बलमा स्मिथ एलबिडब्लु धरापमा परेका थिए । ५ चौकाको मदतमा वार्नरले ५६ रन बनाए । ८४ बल खेलेका उनी युजवेन्द्र चहालको बलमा भुवनेश्वरमार्फत क्याच भए ।

केरी ५५ रनमा अबिजित रहे । ३५ बल खेलेका केरीले ५ चौका र १ छक्का प्रहार गरे । कप्तान आरोन फिन्च ३६ रनमा रनआउट भए । उसमान ख्वाजाले ४२ रन बनाएका थिए । ३९ बलको सामना गरेका ख्वाजाले ४ चौका र १ छक्का प्रहार गरेका थिए । ख्वाजा जसप्रित बुम्रराहको बलमा बोल्ड भए ।

ग्लेन म्याक्सवेल २८ रनमा पवेलियन फर्किदा नाथन कुल्टर नाइलले ४,प्याट कुमिन्सले ८ र मिचेल स्टार्कले ३ रन बनाए । मार्कुस स्टोनिसले खाता नै खोल्न सकेनन् ।

भारतका जसप्रित बुम्रराह र भुवनेश्वर कुमारले ३–३ विकेट लिए । यु्जवेन्द्र चहालको नाममा २ विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३२ रन बनाएको थियो । शिखर धवनको शतक र कप्तान बिराट कोहलीसहित रोहित शर्माको अर्धसतकमा भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य दिएको थियो ।

भारतका लागि शिखर धवनले शतक बनाउँदा कप्तान विराट कोहली र रोहित शर्माले अर्धसतक बनाए । हार्दिक पाण्डेय २ रनले अर्धशतक बनाउन चुकेका थिए । उत्कृष्ट साझेदारी गरेका ओपनर शिखरले १ सय १७ रन बनाउँदा अर्का ओपनर रोहित शर्माले ५७ रनको योगदान दिए । १६ चौका प्रहार गरेका धवन मिचेल स्टार्कको बलमा क्याच भएका थिए । ७० बलको सामना गरेका रोहितले ३ चौका र १ छक्काको मदतमा ५७ रन जोडे ।

१ सय २७ रनको साझेदारीसँगै २२ दशमलव २ ओभरमा रोहित पहिलो विकेटका रुपमा नेथन कुल्टर नाइलको बलमा एलेक्स केरीमार्फत क्याच भएका थिए । त्यसपछि कप्तान कोहलीसँग साझेदारी गरेका धवन ३६ दशमलब ५ ओभरमा दोस्रो विकेटका रुपमा मिचेल स्टार्कको बलमा नेथन लायनमार्फत क्याचको शिकार भए ।

विस्फोटक ब्याटिङ गरेका हार्दिक पाण्डेय अर्धसतक बनाउन २ रनले चुके । २७ बल खेलेका हार्दिकले ४ चौका र ३ छक्काको मदतमा ४८ रन बनाए । उनी प्याट कुमिन्सको बलमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चको शिकार भए । कप्तान कोहलीले ८२ रनको योगदान दिए । ७७ बल खेलका कोहलीले ४ चौका र २ छक्काको मदतमा ८२ रन बनाए। कप्तान कोहली मार्कुसको बलमा कुमिन्समार्फत क्याच भएका थिए ।

महेन्द्रसिंह धोनीले २७ रन बनाए । १४ बल खेलका धोनी ३ चौका र १ छक्का प्रहार गर्दै मार्कुस स्टोनिसको बलमा आउट भए । केएल राहुल ११ रनमा रनमा अविजित रहे ।

अष्ट्रेलियाका मार्कस स्टोनिसले दुई विकेट लिँदा मिचेल स्टार्क, प्याट कुमिन्स ,नाथन कुल्टरले १–१ विकेट लिए ।

पाँचौं पटकको च्याम्पियन अष्ट्रेलिया तेस्रो खेलमा पराजित भएको छ भने भारतले दोस्रो जित निकालेको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि ६ विकेटको जित निकालेको थियो । अष्ट्रेलियाले यसअघि वेष्ट इन्डिजमाथि १५ रन तथा अफगानस्तानलाई ७ विकेटले हराएको थियो । भारतले अब न्युजिल्याण्डसँग खेल्नेछ । पराजित अष्ट्रेलियाले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६ सोमबार ००:००  ६ : १७ बजे