९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हत्याराको क्रिडास्थल बन्दै देवदह, अकालमै अस्ताउँछन् तन्नेरीहरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
रुपन्देहीको देवदहमा मान्छे मारिनु सामान्य जस्तै हुन थालेको छ । त्यसमाथि पनि लाउँलाउँ र खाउँखाउँ उमेरका तन्नेरीहरुको एकपछि अर्को गर्दै हत्या हुँदै जानुले देवदह हत्याराहरुको क्रिडास्थल बन्दै गइरहेको पुष्टि हुन्छ । केही बर्षअघि युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछि रुपन्देहीमा श्रृङखलावद्ध रुपमा यो या त्यो मानेमा हत्याका घटनाहरु घटिरहेका छन् । करिब डेढ महिनाअघि पनि यस्तै हत्याको घटना भएको थियो । त्यतिखेर तरुण दलका कार्यकर्ता अनिस पुरीको चिर्पट प्रहार गरी हत्या भएको थियो । सो घटना सेलाउन नपाउँदै फेरि देवदहमै अर्का एक युवकको निर्मम हत्या भएको छ ।
शनिबार राती देवदह नगरपालिका–८ विशालनगरका २८ बर्षिय सुमन थापाको हत्या भएको हो । वेहोस अवस्थामा फेला परेका उनको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षिक दिपक महतले जानकारी दिनुभयो । मृतक थापाको निधार र छातीमा निलडाम देखिएकाले उनको कसैले हत्या गरेको हुन सक्ने आशंका गरिएको हो । घटनामा संङ्लग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म ५ जनालाई पक्राऊ गरेको छ । यद्यपी घटनाको बारेमा केही खुलेको छैन । हत्यामा संलग्न आशंकामा अहिलेसम्म ५ जना पक्राऊ परिसकेका छन् । रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु, २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतो अहिले प्रहरी खोरमा छन् । उनीहरुमाथि सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । अहिलेसम्म घटनाको बारेमा पक्राऊ परेकाहरुले केही बताएका छैन्न् । हत्या किन र के का लागि भयो भन्नेबारे पनि केही पत्ता लागेको छैन ।
यसभन्दा अघि पनि युवा संघका कार्यकर्ता बलु पौडेललगायत ४ जनाको निर्मम हत्या भइसकेको छ । यसरी युवकहरुको हत्या बढीरहँदा त्यहाँका सर्वसाधारणले अशान्त महशुस गर्न थालेका छन् । देवदह खैरेनीका एक स्थानीयले भन्नुभयो– “अब गाउँमा बस्नै नसकिने अवस्थामा पुगियो । आफ्ना हुर्के बढेका छोराछोरीको रक्षा कसरी गर्ने भन्ने चिन्ताले रातदिन सताउँछ ।”
देवदहमा लागु औषधको अवैध कारोबार गर्ने र सेवन गर्नेको ठुलै ग्याङ सक्रिय रहेको नाम नभन्ने सर्तमा एक व्यक्तिले मायादेवी अनलाइनलाई भन्नुभएको छ– “त्यसै कारणले खैरेनी र देवदहमा यसरी हत्याका श्रृङखला भइरहेका छन् । समय मै यस्ता कारोबारीलाई ठेगान नलगाएसम्म बिभिन्न बाहनामा यस्ता घटना नदोहोरियलान् भन्न सकिन्न ।” प्रहरीले पनि देवदहमा हत्या मानसिकता बोकेर अपराध गर्नेहरुको गिरोह नै सक्रिय रहेको बताउँछ । प्रहरी भन्छ–“कहिले गोली प्रहार गरेर हत्या हुन्छ । कहिले चिर्पट प्रहार गरेर हत्या भइरहेको छ । कसैलाई शारीरिक पीडा दिएर हत्या गरिएको छ । यसले यहाँ अपराधिहरुको ठुलै अखडा रहेको छ भन्ने पुष्टि हुन्छ ।” अब प्रहरीको सबै फोर्स त्यहाँ प्रयोग हुने र यस्ता घटना आगामी दिनमा हुन नदिने प्रहरीले रेडियो मायादेवी र मायादेवी अनलाइनलाई जानकारी दिएको छ । प्रहरीले अब यी र यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने भन्दै सर्वसाधारणलाई अशान्त महशुष नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  १ : ५० बजे