काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ स्वीट्जरल्याण्ड भ्रमणका लागि प्रस्थान गरेका छन्। दोस्रो पटक सरकारको नेतृत्व गरेपछि स्वीट्जरल्याण्डको भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीको यो भ्रमण पनि दोस्रो पटक हो।
यसअघि गत वर्ष माघ ६ देखि १२ सम्म प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको सम्मेलनमा भाग लिएका थिए।
उच्चस्तरीय ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका प्रधानमन्त्री ओलीले सोमबार अन्तर्रा्ष्ट्रिय श्रम संगठन १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई संवोधन गर्नेछन्।
त्यसपछि उनले स्वीस इन्टेरियर मिनिस्टर एवंम् पूर्व राष्ट्रपति अलिन ब्रेसेटसँग दुई पक्षीय वार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले जेनेभास्थित नेपाली समुदायसँग पनि भेट गर्नेछन्।
जेनेभाबाट बेलायत जाने तयारी रहेका प्रधानमन्त्री ओलीले ११ जुनमा प्रधानमन्त्री टेरेसा मे सँग भेट गर्ने कार्यक्रम रहेको छ।
त्यसै दिन प्रधानमन्त्रीले अक्स्फोर्ड युनिभर्सिटीमा नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्। १२ जुनमा प्रधानमन्त्री ओली फ्रान्स भ्रमणका निस्कने छन् र पेरिसमा राष्ट्रपति इम्यानुअल म्याकरोसँग भेट गर्नेछन्।
त्यसपछि उनी नेपाल र फ्रान्सको कुटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित एक विशेष कार्यक्रममा उनी सामेल हुनेछन्। त्यसक्रममा ३२ अर्वको लगानीसहित नेपाली आकाशमा प्रक्षेपण गर्न लागिएको भू–उपग्रह सम्बन्धी सम्झौतामा समेत नेपाल र फ्रान्सले हस्ताक्षार गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार र वैदेशिक सल्लाहाकार राजन भट्टराई लगायत सामेल छन्।
२५ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया