मायादेवी अनलाइन, वाणगंगा ।
सरकारी सेवा कति सम्म दयनिय अवस्थामा छ भन्ने कुराको पछिल्लो ज्वलन्त उदाहरण बनेको छ कपिलवस्तुको पिपरा अस्पताल । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २ मा अवस्थित पिपरा अस्पताल जिल्लाकै महत्वपूर्ण सरकारी अस्पताल मध्येको एक हो । जिल्लामै सबैभन्दा बढी सचेत वर्ग रहेको वाणगंगा नगरपालिका यो अस्पतालका प्रमुख सेवाग्राही हुन् भने जिल्लाको बुद्धभूमि नगरपालिका अर्घाखाँचीको साविक सिमलपानी गाविस, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, रुपन्देहीको कञ्चन गाउँपालिकासम्मबाट विरामी उपचारका लागि यहाँ आउने गर्छन् ।
सरकारी अस्पतालमा जनताको विश्वास ह्वात्तै बढ्नुपर्ने अवस्थामा पिपरा अस्पतालमा आउने विरामीले राम्रो सेवा पाउँन सकेका छैनन् । सामान्य निजी क्लिनिक भन्दा पनि दयनिय अवस्थामा रहेको छ यो अस्पताल । विश्वास पनि नीजि क्लिनिकको भन्दा कम गर्छन विरामी ।
गत जेठ १७ गते वाणगंगा २ बैजलपुरकी शुसीला थारु घाउको ड्रेसिङ गर्न अस्पताल पुगिन । विहान ११ः ३० बजे अस्पताल पुगेकी उनी टिकट काटेको डेढ घण्टा सम्म अस्पताल मै बसिन । पटक पटक ड्रेसिङका लागि चिकित्सकलाई आग्रह गर्दा उनको काम कसैले सुनेनन् । बरु उनलाई केहि समय पर्खन आग्रह गरे । चिकित्सक आउँलान भन्ने आशामा बसेकी उनलाई ड्रेसिङ गरिदिने भन्दै एक जना स्वास्थ्यकर्मीले ड्रेसिङ रुम लगिन् । ड्रेसिङ रुममा लुगा खोल्न लगाएकी ती स्वास्थ्यकर्मीले घाउ देखेपछि आफुले नसक्ने भन्दै बाहिर निस्किन् । शुसीलाले त्यसपछि पनि आधा घण्टा चिकित्सक कुरिन तर उनको घाउ ड्रेसिङ गरिदिने कोहि भएनन् ।
स्वास्थ्यकर्मीले आफु प्रति देखाएको व्यवहार माथि निकै रुष्ट बनेकी उनी चिकित्सक खोज्दै भौतारिन थालिन् । संयोगवश त्यसैदिन अस्पताल नजिकै रहेको वडा नं. २ को कार्यालयमा सार्वजनिक सुनुवाई थियो । त्यस कार्यक्रममा पिपरा अस्पतालका डा. विपिन जयसवाल पनि थिए । सार्वजनिक सुनुवाई आफ्नै गतिले अगाडी बढिरहेको बेला शुसीला जंगिदै कार्यक्रमस्थलमा आएर पिपरा अस्पतालका डाक्टर खै बन्दै बुज्न थालिन् । डा. जयसवालले अस्पतालबारे सेवाग्राहीले उठाएका प्रश्नको जवाफ दिँदै थिए । शुसीलाले आफुप्रति अस्पतालका स्वास्थ्यकर्मीले देखाएको व्यवहारलाई सहभागी सबैमाझ भनिन् ।
शुसीलाले अस्पतालको विजोग अवस्था आमसर्वसाधारण माझ सुनाएपछि लज्जिद भएका डा. जयसवाल शुसीलालाई लिएर अस्पताल पुगे । डा. जयसवाल अस्पताल पुगेपनि आक्रोसित बनेकी चौधरीले त्यहाँ उपचार नगराई घर फर्किइन् । यो त थियो एक ज्वलन्त उदाहरण ।
यस्ता सामान्य विरामीका समस्या समाधानमा पिपरा अस्पतालका चिकित्सक उदासिन हुँदै आएका छन् । अस्पतालमा पुग्ने विरामीले सामान्य जीवनजल समेत पाउँदैनन् । वडा नं २ पिपरामा लामो समय देखि स्वय्मसेविकाको रुपमा काम गर्दै आएकी बृन्दा अर्यालले पिपरा अस्पतालमा सामान्य जीवनजल पनि नभएको बताइन् । सार्वजनिक सुनुवाईमै उनले यो कुराको जोडतोडले आवाज उठाएकी हुन् । राज्यले निशुल्क प्रदान गर्दै आएका आइरन चक्की, सिटामोल पनि अस्पतालमा नभएको कुरा उनले बताइएकी थिइन् ।
सरकारले स्वास्थ्य बीमा लागु गरेको छ । स्वास्थ्य बीमा लागु गरिसकेपछि अस्पतालमा सेवाग्राहीको चाप छ । उसो त विरामीको चाप हुने यो अस्पतालमा स्वास्थ्य बीमा लागुभएपछि झन चाप हुने गरेको छ । तर, यहाँ कार्यरत स्वास्थ्यकर्मीले प्रदान गर्ने सेवाप्रति सेवाग्राही सन्तृष्ट छैनन् ।
अस्पतालमा भवनको अभावका कारण सेवा प्रवाह राम्रो हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ । राज्यको कमजोरीका कारण अस्पतालबाट सेवा प्रवाह सहज हुन नसकेको प्रशासनको आरोप छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरउन्नती भएर अस्पताल भैसक्दा पनि राज्यले उहि स्वास्थ्यचौकीलाई दिदै आएको सेवा पाएको अस्पतालको दाबी छ । यद्यपि अस्पतालले यो दाबी गर्दै गर्दा राज्यले तीन ओटा विशेषज्ञ डाक्टरलाई दरबन्दी अनुसार खटाएको छ । जेठ १७ गतेको घटनामा विरामीको चाप बढी हुँदा सेवाप्रवाह सहज नभएको डा. जयसवालको भनाई थियो ।
यता अस्पतालको रेखदेख गर्ने अधिकार पाएको वाणगंगा नगरपालिकाले यो अस्पतालमा खाँसै चासो देखाएको छैन् । निर्वाचित जनप्रतिनिधि आएको दुई बर्ष वितिसक्दा पनि अस्पताल अध्यक्ष विहीनजस्तै छ । कानुनले अस्पतालको अध्यक्ष नगरपालिका प्रमुख पदेन हुने अधिकार दिएको छ ।
नगरपालिकाका प्रबक्ता विष्णु पौडेल अस्पतालको विषयमा नगरपालिका गम्भिर रहेको बताउँछन् । नगरकार्यपालिकाको बैठकले अस्पतालमा समिति गठन गर्ने निर्णय गरिसकेको भन्दै अब तत्कालै समितिले पूर्णता पाउने पौडेलको दाबी छ ।
(अस्पतालको सेवाप्रति आक्रोस व्यक्त गर्दै शुसीला चौधरी)
प्रतिक्रिया