८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दलिनमा झुन्डिएर श्रीमती मरेको बयान दिने श्रीमानले श्रीमती आफै मारेको पुष्टि



अर्घाखाँची ।
श्रीमानको कुटपिटबाट अर्घाखाँचीको सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा सितगंगा–१ मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया बसन्ता खत्री रहेको प्रहरीले जनाएको छ ।
यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए ।
टाउको ठोक्किएर नाककानबाट रगत बगेर मृत्यु भएपछि मृतकका माईती पक्षले प्रहरीमा उजुरी दिएका थिए । घटनाबारे थाहा पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
सो क्रममा विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनि मृतकको घाटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झुठो कुरा बताएका थिए ।
जब सदरमुकाम जिल्ला अस्पताल सन्धखर्कमा शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले सोधपुछ गर्दा तब उनले घटनाबारे मुख खोलेको प्रहरीले जनाएको छ ।
आफुले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाईदिएको उनले स्विकार गरेका छन् । आफुले मुक्कै मुक्काले हानेर झ्यालमा टाउको ठोक्काएर नाककानबाट रगत बगेर श्रीमतीको मृत्यु भएको उनले स्विकार गरेका हुन् ।
मृतक खत्रीको अनुहारमा र शरिरको विभिन्न ठाँउमा निल डाम रहेको छ । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६ शनिबार ००:००  १० : ५० बजे