८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सडक सञ्जालले जोडिदै विजयनगर गाउँपालिका, करोडौंका काम जारी



मायादेवी अनलाइन, (खुरुहुरिया) ।
सडक सञ्जाल र विकास निर्माणमा निकै पछि परेको विजयनगर गाउँपालिकामा विस्तारै विकासका ढोकाहरु खुल्न थालेका छन् । तराईको क्षेत्र भएपनि विकास निर्माणमा निकै पछाडि परेको क्षेत्र थियो विजयनगर गाउँपालिका । तर, स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आई सकेपछि विकास निर्माणले तीव्रता लिन थालेको छ । गाउँघरमा विकासका कामहरु धमाधम सुरु भएको देख्दा गाउँपालिकाबासी खुसी छन् ।
गाउँपालिकामा सबैभन्दा ठूलो आवश्यक्ता सडक सञ्जालको छ । अहिले निर्माण भैरहेका सडक सञ्जालले सिंगो गाउँपालिकालाई विकासको उचाईमा पुर्याएको छ । बर्षौ देखि बन्न नसकेको सुरही खोला देखि चारनम्बर भटेनी जोडिने सडक यस बर्ष देखि पक्की बन्दै छ । गाउँपालिकाले यो सडकलाई गाउँपालिका पहुँच मार्गको रुपमा नामाकरण गरेको छ । सुरई नदी देखि यो सडकखण्डलाई विस्तार गरेर चारनम्बर भटेनी, आरटिओ रोड हुँदै गाउँपालिका रहेको स्थान पिपरीसम्म जोडिने छ । १२ किलोमिटरको यो सडक निकै गाउँपालिकाको मात्र नभई जिल्लाकै महत्वपूर्ण मानिन्छ । प्रदेश सरकारबाट यो सडकका लागि बजेट परेको छ । अहिले सडक निर्माणको काम धमाधम सञ्चालन भैरहेको छ । जारी कामको प्रगति हेर्दा ७५ प्रतिशत जति काम सम्पन्न भैसकेको छ ।


गाउँपालिकालाई राजमार्गसम्म जोड्ने यो सडक पक्की भएपछि गाउँपालिकाको मुहार फेरिने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले मायादेवी अनलाइनसंग भन्नुभयो । ‘बर्षौ देखि यो सडक बनाउने कुरा चल्दै आएको हो तर, कुनै काम भएन । म निर्वाचित भैसकेपछि यो सडकलाई प्राथमिकतामा राखेको थिए । अहिले प्रदेश सरकारसंग बजेट मागेर पक्की बनाउन लागेका छौं गाउँपालिका अध्यक्ष थापाले खुसी हुँदै भन्नुभयो ।’


८ मिटरको यो सडक ५ मिटर पक्की हुँदै छ । केसी कन्ट्रक्सन र व्रेफ कन्ट्रक्सनले संयुक्त रुपमा सडक बनाउने ठेक्का लिएका छन् । यही आर्थिक बर्षमा काम सकाउने गरी ठेकेदारले काम थालेका हुन् । सडकका लागि अहिले ३ करोड ३१ लाख बजेट छ्ट्याइएको छ भने आगामी बर्ष बजेट थप भएर आउने अध्यक्ष थापाले बताउनुभयो ।
यो सडक पक्की बनेसंगै गाउँपालिकाबासी पूर्वपश्चिम महेन्द्र राजमार्गसंग सिधा सम्पर्कमा जोडिनेछन् । सुरई नदी देखि हल्लानगर हुँदै चन्द्रौटासम्म सडक पक्की भैसकेको छ । शिवराज नगरपालिका वडा नं. ९ शिवगढीका बासिन्दाको हल्लानगर सडक प्रमुख सडक हो । दक्षिणमा विजयनगर गाउँपालिका र पश्चिममा शिवगढीबासी सुरई पूलमा जोडिन्छन् । पूलको बाटो हुँदै चन्द्रौटासम्म आवातजावात गर्छन् सर्वसाधारण ।


आरटीओ रोड पनि पक्की बन्दै

विजयनगर गाउँपालिकाको अर्को महत्वपूर्ण सडक आरटीओ रोड पनि हो । यो रोड विजयनगर गाउँपालिकाको मुटु जस्तै हो । कृष्णनगरसंग सिधा जोडिने यो सडक पक्की बन्दै छ । आरटीओ रोड विजयनगर गाउँपालिकामा ९ किलोमिटरको दुरीमा छ । कृष्णनगर हुँदै यो रोड शिवगढीसम्म जोडिन्छ । अहिले धमाधम पक्की बन्न लागेको यो रोडमा केन्द्र र प्रदेश सरकारले संयुक्त बजेट दिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।


प्रदेशका भौतीक पूर्वाधारमन्त्री बैजनाथ चौधरी र प्रदेश सांसद अर्जुन केसीको पहलमा बन्न लागेको यो रोडका लागि २० करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो । यो आर्थिक बर्षबाट सुरु भएको काम अर्को आर्थिक बर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । विजयनगर गाउँपालिका भित्र पर्ने ९ किलोमिटर र शिवराज नगरपालिकाको वडा नं. ९ शिवगढीमा ३ किलोमिटर गरी १२ किलोमिटर पक्की हुनेछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६ शनिबार ००:००  १० : १२ बजे