१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

प्रि-मनसुन सक्रिय, मुलुकका विभिन्न स्थानमा पानी पर्ने सम्भावना



काठमाडौं ।
मुलुकका विभिन्न स्थानमा आज पनि पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्ला दिनमा प्रिमनसुनका कारण ठाउँ ठाउँमा ठूलो पानी पर्ने गरेको मौसमविद् सुवास रिमालले जानकारी दिए । “पछिल्ला केही दिनमा कुनै कुनै ठाउँमा एक्कासी ठूलो पानी परेको पाइएको छ,” उनले भने, “सबैतिर यस्तो हुँदैन कुनै कुनै ठाउँमा निकै ठूलो पानी पर्ने गरेको छ । यो प्रिमनसुनकै प्रभाव हो ।”
काठमाडौं उपत्यका र पोखरामा पनि त्यस्तो पाइएको उनले बताए । आज पनि उनले मध्ये र पहाडी क्षेत्रमा मौसममा फेरबदल हुने जानकारी दिए । पूर्वी भागमा बदली नै देखिएको छ । पूर्वी तराईका जिल्लामा पनि बदली देखिएको छ । मध्येक्षेत्रका पहाडीभेगमा पनि बदली भएको छ । सूदुरपश्चिममा सफाजस्तै देखिएको छ भने काठमाडौंमा पनि बदली भएको छ ।
बिहार आसपासमा न्यूनचापीय अवस्थाले त्यसको असर पनि यहाँ परेको उनको भनाइ थियो । काठमाडौं उपत्यकामा बुधबार बेलुकादेखि हावाहुरीसहित दैनिक वर्षा भइरहेको छ ।
त्यस्तै, शुक्रबार दिउँसो देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार राति देशका पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमाहरुमा आंशिक देखि सामान्य बदली, मध्य तराईका भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भागका केही स्थानहरुमा मेघ-गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ९ : १३ बजे