१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

५० बर्ष पछि लालपूर्जा पाउँदै बुद्धभूमिबासी



मायादेवी अनलाइन, गोरुसिंगे ।
कपिलवस्तुको बुद्धभूमिका नागरिकले नापी भएको ५० वर्षपछि लाजपुर्जा पाएका छन् । २०२६ सालमा नापी भएर लालपुर्जाको आशमा बसेका स्थानीय पाँच सय परिवारले ढिलै भए पनि लालपुर्जा पाएपछि हर्षित बनेका छन् ।
बुद्धभूमि नगरपालिका गोरुसिंगेका दिवाकर घिमिरे यतिबेला निकै खुशी छन् । आफ्नै जग्गामा घर भएर पनि वर्षौंदेखि लालपुर्जा नहुँदा सरकारी सेवासुविधा पाउनबाट वञ्चित उनी लालपुर्जा पाएपछि खुशी भएका हुन् ।
बुद्धभूमि नगरपालिकाका साना साना टुक्रामा रहेका गाउँ ब्लकका जग्गामा बसोबास र खेतीकिसानी गर्दै आएका नागरिकलाई नापी कार्यालयले लालपुर्जा वितरण गरेको तौलिहवाका प्रमुख नापी अधिकृत ध्रुव मरासिनीले जानकारी दिनुभयो ।
पछिल्लो समय बुद्धभूमि नगरपालिकाबाट थालिएको लालपुर्जा वितरण कार्यलाई जिल्लाका सबै स्थानीय तहमा पु¥याउने नापी कार्यालयले जनाएको छ ।
स्थानीयलाई लालपूर्जा वितरण गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले अब सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुलाई पनि राज्यले लालपूर्जा दिनुपर्ने बताउनुभयो । स्थानीय सरकारले लालपूर्जा वितरण गर्ने अधिकार पाएको छैन मेयर श्रेष्ठले भन्नुभयो, ‘केन्द्र सरकारले यसमा ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ८ : ५१ बजे