पाल्पा ।
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सचिव कृष्णप्रसाद ज्ञवाली, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, बुद्धिजीवी निर्मल श्रेष्ठलगायतले सङ्ग्रहालयको प्रभावकारी व्यवस्थापन र निगरानी आवश्यक रहेको बताउनुभयो । औपचारिकरूपमा सङ्ग्रहालय सञ्चालनमा आएपछि प्रवेश गर्नेहरुलाई शुल्क लगाउने व्यवस्था गरिएको छ ।
सङ्ग्रहालय प्रवेशमा प्रतिविद्यार्थी रु पाँच, स्वदेशी नागरिकलाई रु १५, सार्क देशका नागरिकका लागि रु ५० र अन्य विदेशी नागरिकका लागि रु १०० लाग्नेछ । क्यामेरा शुल्क नेपालीका लागि रु २५, सार्कका लागि रु ५० र अन्य देशका नागरिकका लागि रु १०० कायम गरिएको छ ।
तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पर्यटक आकर्षणका लागि पाल्पा दरबार सङ्ग्रहालय सफल हुने बताउनुभयो । बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म सङ्ग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने तानसेन नगरपालिका अधिकृत भरत आचार्यले बताउनुभयो ।
जिल्ला सदरमुकाम तानसेनस्थित बहुउद्देश्यीय पाल्पा दरबार सङ्ग्रहालयले सञ्चालन गर्ने योजना रहे पनि सोहीअनुसार काम हुनसकेको थिएन । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सामग्रीको जोहो गर्न भनिएपछि सोहीअनुसारका वस्तु सङ्ग्रहालयले राख्न सकेको छैन । राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार विसं २०६२ माघ १८ गते माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । दरबारको पुनःनिर्माण भई सङ्ग्रहालयका रुपमा बदलिएपछि अहिले यो पर्यटक आकर्षणको गन्तव्य बनेको छ ।
१७ जेष्ठ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया