१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दोहोरो नागरिकताबारे कृष्णनगरले भन्यो, ‘भ्रमका पछि कोही नपर्नु’



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नियत स्वार्थ प्रेरित व्यक्ति सलबलाउन थालेको भन्दै सचेत बन्न आम नागरिकलाई आग्रह गरेको छ । नगरको बदनाम गराउन केही व्यक्ति शिलशिलेबारमा लागेको भन्दै नगरपालिकाले आपत्ति पनि प्रकट गरेको छ ।

विहीबार दिउँसो नगरपालिकाका एक कर्मचारी भारतीय नागरिक रहेको भन्दै केही अनलाइन मिडियाले समाचार सम्प्रेषण गरेका थिए । नगरपालिकाका नायव सुब्बा शाकिर अहमद शाह भारतीय नागरिक रहेको र भर्खरै भारतमा सकिएको लोकसभा चुनावमा भोट हाल्न गएको कुरा अनलाइन मिडियामा सार्वजनिक भएको थियो ।

भारतमा विगौं-विगाह जग्गा भएको र उनी भारतीय नागरिक रहेको समाचारको दाबी थियो । समाचार प्रकाशित भैसके पछि नगरपालिकाले दिउँसो पत्रकार सम्मेलन मार्फत समाचारको खण्डन गरेको छ । नगर प्रमुख रजत प्रताप शाहले केही अनलाइन मिडियामा प्रकाशित समाचारले आफ्नो कार्यालयको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । नगर प्रमुख शाहले शाकिर नगरपालिकाका सरकारी कर्मचारी भएको भन्दै झुठो समाचार प्रकाशन नगर्न आग्रह गर्नुभयो । यदि लेख्नै परे सत्यमा आधारित समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो ।

यसैगरी समाचारमा मेयर शाह पनि भारतीय पासर्पोटधारी भएको दाबी थियो । चुनावताका यो विषयले निकै चर्चा-परिचर्चा पाएको थियो । समाचारमा जनाइए अनुसार मेयर शाह भारतीय पासर्पोट प्रयोगकर्ता भएको र नगरपालिकामा आर्थिक अनियमितता गरेको गम्भिर आरोप छ । दुवै कुराको मेयर शाहले पत्रकार सम्मेलन मार्फत खण्डन गर्नुभएको हो ।

नगरपालिकामा जो कोही कानुनभन्दा माथि गएर काम गरेको भए जुन सुकै कार्रबाही गर्न आफु तयार रहेको उहाँले बताउनुभयो । तर, कुत्सिता नियत र स्वार्थ प्रेरित घटना, अभिव्यक्ति, क्रियाकलापयुक्त भ्रम र अन्यौलमा नपार्न शाहले सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६ बिहिबार ००:००  १० : ५८ बजे